काठमाडौँ : नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले संसदमा दर्ता भएको संविधान संशोधन प्रस्ताव फिर्ता नहुने दाबी गरेका छन्।
सभामुख ओनसरी घर्तीसँगको भेटमा उनले संसदमा अगाडि बढिसकेको प्रक्रिया नरोक्न पनि आग्रह गरे। 'पास फेल जे हुन्छ सदनमा हुन्छ,' उनले भने।
सभामुख घर्तीले पनि संसदको अवरोध सहमतिका साथ हटाउन देउवासामु आग्रह गरेकी थिइन्। संविधान संशोधन प्रस्ताव संसदमा दर्ता भएयता प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले संसदमा अवरोध गर्दै आएको छ।
सभामुख घर्तीले संसदमा संविधान संशोधन प्रस्ताव दर्ता भए पनि संसदको कार्यसूचीमा त्यसलाई राखेकी छैनन्। सहमति भएको अवस्थामा मात्र आफूले संसदको कार्यसूचीमा त्यसलाई अगाडि बढाउने उनको भनाइ छ।
घर्तीले बिहीबार नै नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पनि संसदको अवरोध हटाउन आग्रह गरेकी छिन्। तर ओलीले ठाडो जवाफ फर्काउँदै, 'संविधान संशोधन फिर्ता भए एक सेकेण्ड पनि संसद अवरोध नगर्ने' जवाफ दिएका थिए।
'मैले महाभियोग प्रस्ताव अगाडि बढाउन र संविधान कार्यान्वयनका लागि पनि संसदको गतिरोध अन्त्य गर्नुस् भनेँ', नेताहरुसँगको कुराकानीबारे जानकारी दिँदै घर्तीले भनिन्, 'तपाईंहरु कुराकानी गर्नुहोस् भनेको छु। किनभने यो पक्ष र विपक्ष भएर बस्ने अवस्था होइन।'
तर प्रमुख दुई दलका शीर्ष नेताहरुले भने बैठकपछि आआफ्नो अडान दोहोर्याए। देउवाले सभामुख घर्तीसँग संविधान संशोधनकै विषयमा छलफल भएको बताएका छन्। संसदको अवरोध कहिले खुल्छ भन्ने जिज्ञासामा जवाफ फर्काउँदै उनले भने, ‘गतिरोध सधैं नहोला।'
एमाले अध्यक्ष ओलीले सहमतिका लागि सभामुखले आग्रह गरेको उल्लेख गर्दै सहमति भने संशोधन फिर्तामा हुनुपर्ने जिकिर गरे।
‘सहमति गरेर अगाडि बढ्ने कुरा राम्रो हो। सहमति गर्नु राम्रो हो। संसदमा जुन प्रस्ताव दर्ता भएको छ संविधान संशोधन सम्बन्धी,’ ओलीले भने, ‘सजिलो छ- सरकारले त्यो प्रस्ताव फिर्ता लिने कुराकानीबाट सहमतिसाथ अगाडि बढ्न हाम्रो कुनै व्यवधान छैन।
यसैबीच सभामुख ओनसरी घर्ती शनिबार चार दिनका लागि दुबई भ्रमणमा जाने भएकी छिन्। उनी महिला सभामुखहरुको सम्मेलनमा भाग लिन दुबई जान लागेकी हुन्। दलका नेताहरुले आफूलाई भ्रमण स्थगित गर्न आग्रह गरे पनि महिला सभामुखहरुको सम्मेलन भएकाले आफूले निर्णय लिएको उनले जानकारी गराइन्।