
याङगोन (म्यानमार) : म्यानमारमा सुरक्षाबल र सशस्त्र विद्रोहीबीच सुरु भएको झडपको कारण यस महिनामा मात्र कम्तीमा ११ व्यक्तिको मृत्यु भएको छ। यस विद्रोहको कारण म्यानमारका विदेश मन्त्री तथा प्रजातान्त्रीक नेत्री आङ सान सुकीद्वारा जारी शान्तिको प्रयासमा धक्का पुग्ने भएको छ।
उत्तरी राज्य शानमा गत नोभेम्बरको अन्त्यबाट सुरु भएको द्वन्द्वको कारण हजारौ स्थानीय बासिन्दा विस्थापित भएका छन्। विस्थापित हुने अधिकांश सीमापार गरेर चीनतर्फ जाने गरेको पाइएको छ।
म्यानमारको शान राज्यमा जारी यस झडपमा परी गत नोभेम्बरको अन्त्यबाट हालसम्म सैनिक, प्रहरी, सरकार समर्थक नागरिक सेना र सर्वसाधारण गरी कम्तीमा ३० जनाको मृत्यु भइसकेको सरकारी अधिकारीले जनाएका छन्।
म्यानमारमा विगतका केही हप्तादेखि बहुसङ्ख्यक बौद्ध समुदायले अल्पसंख्यक रोहिङ्ग्या मुसलमान जनसमुदायउपर आमहत्या र अत्याचारको शृङ्खला नै मच्चाइ रहेकामा यसलाई नियन्त्रण गर्न प्रजातन्त्रबादी नेतृ आङग सान सुकिको सरकार उदासीन र असफल रहेको आरोप लगाइँदै आएको छ। रासस/एएफपी