
काठमाडौं : सभामुख ओनसरी घर्तीले विहीबार प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी ओली र सत्ताधारी दल नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवासँग छुट्टाछुट्टै भेट गरिन् । दुबै दलका नेतासँग भेट्नुको उदेश्य थियो सहमतीमा संसदमा जारी अवरोध हटाउने उपायको खोजी । दुबै दलका नेतासँगको भेटले अवरोध हटाउने उपाय सुझाउनुको साटो आ–आफ्नो अडानमा टसमस नभएपछी सभामुख आफैं अलमलमा परिन् ।
सभामुख घर्तीले दुबै दलका नेतासँगको भेटमा संसदको जारी अवरोध हटाएर संविधान कार्यान्वयनको बाटो खोल्न सहमतीमा आउन आग्रह गरेकी थिइन् । आफ्नो आग्रहमा ओली र देउवा सकारात्मक हुनुको साटो मुढमेडको संकेत पाएपछी उनी आफैं अलमलमा परिन् ।
१४ मंसिरमा संसद सचिवालयमा दर्ता भएको संविधान संशोधन विधेयक परिपक्व भएपनि सभामुख घर्तीले संसदको कार्यसूचीमा राखेकी छैनन्। उनले दलहरुबीच सहमति भएपछि मात्र संविधान संशोधन विधेयक कार्यसूचिमा राख्ने बताएकी छिन्। प्रमुख प्रतिपक्षी दल नेकपा एमाले सहितका दलहरुले अवरोधका कारण दर्ता पछिका चार वटा बैठक चल्न सकेन । पाँचाै बैठक गतिरोधविहिन बनाउन उनले गरेको प्रयास उपलब्धिमुलक हुन सकेन।
'मैले महाभियोग प्रस्ताव अगाडि बढाउन र संविधान कार्यान्वयनका लागि पनि संसदको गतिरोध अन्त्य गर्नुस् भनेँ', नेताहरुसँगको कुराकानीबारे जानकारी दिदैँ घर्तीले भनिन्, 'यो पक्ष र विपक्ष भएर बस्ने अवस्था होइन । तपाँइहरु कुराकानी गर्नुहोस् भनेको छु।'
विहीबार सभामुख घर्तीले सिंहदरवारमा रहेको आफ्नै कार्यकक्षमा ओली र देउवासँग परामर्श गरेकी थिइन् । संसदको अवरोध हटाउन उनले गरेको आग्रहमा एमाले अध्यक्ष ओलीले संविधान संशोधनको प्रस्ताव फिर्ताको सर्त राखे भने देउवाले प्रकृया अगाडि बढाउन आग्रह गरेपछी मिलनविन्दु फेला परेन ।
सभामुखसँगको भेटमा देउवाले संसदमा दर्ता भएको संशोधन प्रस्ताव फिर्ता हुन नसक्ने भन्दै अगाडि बढिसकेको प्रकृया नरोकी अगाडि बढाउन आग्रह गरेका थिए । ‘पास फेल जे हुन्छ सदनमै हुन्छ’ देउवाको भनाई उदृत गर्दै स्रोतले भन्यो । मध्यममार्ग खोज्न देउवासँग भएको सभामुखको छलफले सकारात्मक हुन सकेन ।
सभामुखसँगको छलफल सकाएर बाहिरिएका देउवासँग सञ्चारकर्मीले संसदको अवरोध खुल्नेबारे जिज्ञासा राख्दा उनल भने ‘ सधै गतिरोध नहोला ।’
देउवासँगको छलफल सकिएपछी उनले एमाले अध्यक्ष ओलीसँग संसदमा जारी अवरोध हटाउनेबारे छलफल गरेकी थिइन् । ओलीसँगको छलफलको विषय पनि संसदमा जारी गतिरोधको अन्त्य नै थियो । सभामुखको आग्रहमा ओलीले गतिरोध अन्त्यका लागी संविधान संशोधन प्रस्ताव फिर्तालाई सर्तका रुपमा राख्दै भने‘ संविधान संशोधन फिर्ता भए एक सेकेन्ड पनि संसद अवरोध हुन्न ।’
सभामुखसँगको छलफल सकाएर बाहिरिनेक्रममा ओलीले सभामुखले सहमतीका लागि आग्रह गरेको र आफुले संशोधन फिर्ता हुनुपर्ने बताएको जानकारी दिएका थिए ।
'सहमति गरेर अगाडि बढ्ने कुरा राम्रो हो। सहमति गर्नु राम्रो हो। संसदमा जुन प्रस्ताव दर्ता भएको छ संविधान संशोधन सम्बन्धि, सरकारले त्यो प्रस्ताव फिर्ता लिने कुराकानीबाट सहमतिसाथ अगाडि बढ्न हाम्रो कुनै व्यवधान छैन।'
सहमति जुटाउन सभामुख छलफलमा रहँदा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचन्ड कार्यकर्ता प्रशिक्षणका लागि धनगढी पुगेका थिए। धनगढीमा उनको सम्बोधन गतिरोध अन्त्यतिर भन्दा मुढभेडकै संकेत दिएको थियो । उनले काँग्रेस नेतृत्वको सरकारको पालामा एमाले सहितको सहमतीमा आएको प्रस्तावनै आफुले अगाडि बढाएको तर्क गर्दै उनले अधिकांश समय आफु राष्ट्रघाती नभएको प्रष्टिकरणमै खर्चिए।