PahiloPost

May 12, 2025 | २९ बैशाख २०८२

४ वर्षमा पनि बनेन लिखु खोलाको पुल



पहिलोपोस्ट

सोलुखुम्बु : सोलुखुम्बुको चौलाखर्क र रामेछापको गुम्देल गाविस जोड्ने लिखुखोलाको पुल निर्माण कार्य चार वर्षमा पनि पूरा हुन सकेको छैन।
 
विसं २०६९ मा सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालयको स्थानीय पूर्वाधार विकास तथा कृषि सडक विभाग (डोलिडार) र सिरुवा लोकप्रियदेवी कन्स्ट्रक्सनबीच सम्झौता भई काम सुरु भएको पुल निर्माण कार्य हालसम्म पनि पुरा भएको छैन।
 
सो पुल निर्माण नहुँदा सोलुखुम्बुको डाँडापारिका गाविस गोली, चौलाखर्क र भकाञ्जेका बासिन्दा मर्कामा परेका छन् भने सदरमुकामबाट चौलाखर्क तथा रामेछाप हुँदै राजधानी चल्न सक्ने सडक निर्माणको काम पनि अवरुद्ध भएको छ।
 
विसं २०७० असार मसान्तभित्रमा काम सम्पन्न गर्नेगरी तीन करोड ५० लाखको लागतमा सम्झौता भएको सो ट्रस्ट ब्रिजको निर्माणकार्य बीचमा २ वर्ष अवरुद्ध भएको थियो। अघिल्लो वर्षको चैत महिनामा सोलुखुम्बुका सांसद बलबहादुर केसी र डोलिडारका प्राविधिक सहितको उपस्थितिमा सार्वजनिक सुनुवाई गरी ठेकेदारलाई दबाब दिएपछि पुनः काम सुरु भएको थियो। गत वर्षको असार मसान्तमा अन्तिम पटकका लागि एक वर्षको म्याद थप भएकाले आगामी असार मसान्त सम्ममा निर्माण सक्नुपर्ने दबाबका कारण अहिले काम भइरहेको छ।
 
रामेछापतर्फको पिलर निर्माण सकिएको र सोलुखुम्बु तर्फको पिलर निर्माण कार्य भइरहेकाले आगामी असारभित्रमा निर्माणकार्य सम्पन्न गर्ने सिरुवा लोकप्रियदेवी कन्स्ट्रक्सनका प्रोप्राइटर मदन बस्नेतले बताए।
 
बस्नेतका अनुसार अहिले निर्माण कार्य दु्रतगतिमा चलिरहेको छ भने ट्रस्टका लागि आवश्यक सामग्री निर्माण जिम्मा लिएको कम्पनीले गतवर्ष नै सामग्री तयार गरिसकेको छ। सोलुखुम्बुतर्फको पिलर तथा अन्य निर्माणको काम आगामी वैशाखसम्ममा सम्पन्न गरेर लगत्तै ट्रस्टका सामग्री ढुवानी गरी जडान गर्ने बस्नेतले बताए। रासस



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell