PahiloPost

Mar 19, 2025 | ५ चैत्र २०८१

३ राष्ट्रिय ​निकुञ्ज र शुक्लाफाँटा वन्यजन्तु आरक्षमा बाघ गणना सुरु



पहिलोपोस्ट

काठमाडौँ : राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले तीन राष्ट्रिय निकुञ्ज र वन्यजन्तु आरक्षमा बाघको गणना सुरु गरेको छ। विभागले राष्ट्रिय निकुञ्ज र वन्यजन्तु आरक्ष क्षेत्रको वार्षिक कार्यक्रमअनुसार बाघको गणना सुरु गरेको हो। गणना गरिएकामा बर्दिया राष्ट्रिय निकुञ्ज, बाँके राष्ट्रिय निकुञ्ज र शुक्लाफाँटा वन्यजन्तु आरक्ष रहेको छ।
 
विभागका सहायक इकोलोजिस्ट ऋषि रानाभाटले बाघको सङ्ख्या वार्षिकरुपमा घट्यो या बढ्यो भन्ने अध्ययन गर्नका लागि बाघको गणना गरिएको जानकारी दिए। बाघको गणनाले बाघको अवस्था के छ भन्नेबारे थाहा पाइने रानाभाटले बताए। उनले भने, 'हरेक वर्ष राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु आरक्षभित्र रहेको बाघको गणना गर्छौ त्यही अन्तर्गत अहिले गणना गरेका हौँ।' अरू राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु आरक्षको पनि छिट्टै गणना हुने विभागले जनाएको छ।
 
यस्तै, सरकारको सहयोगमा हरेक पाँचवर्षमा बाघको राष्ट्रिय गणना गरिने गरिएको छ। विभागले सन् २०१३ मा गरेको राष्ट्रिय गणनामा नेपालमा बाघको सङ्ख्या एक सय ९८ रहेको छ।
 
 
क्यामरा कम र दक्ष जनशक्ति कम हुँदा सबै राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु आरक्षको गणना गर्न नसकेको विभागले जनाएको छ। विभागका अनुसार हाल चारसयदेखि पाँचसयको हाराहारीमा बाघको अध्ययन गर्ने विशेष क्यामरा रहेका छन्। 'राष्ट्रिय गणनाका लागि विभागले नयाँ खरिद गर्नुका साथै विदेशबाट क्यामरा ल्याउने गरेको छ', रानाभाटले भने। रासस



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell