PahiloPost

May 11, 2025 | २८ बैशाख २०८२

चिसोमा कठ्यांग्रिँदै भूकम्पपीडित, निमोनियाले थलिए बालबालिका



पहिलोपोस्ट

मेलम्ची : स्थायी आवास पुनःनिर्माणका लागि सरकारले उपलब्ध गराएको अनुदानले घर बन्न नसक्दा यस वर्ष पनि भूकम्पपीडितले टहारामा चिसो काट्न बाध्य छन्।
 
आवास निर्माणका लागि सरकारले पहिलो किस्ता स्वरुप उपलब्ध गराएको ५० हजारले घर बनाउन नपुग्ने हुँदा सिन्धुपाल्चोकका अधिकांश भूकम्पपीडित टहारोमा बास बस्दै आएका छन्।
 
आर्थिक स्थिति बलियो हुनेले सरकारको अनुदानबाहेक आफ्नै खर्च गरेर भए पनि घर बनाएका छन् तर न्यून आर्थिक अवस्था भएका भूकम्पपीडितले अझै पनि सरकारको अनुदान पर्खाइमा छन्।
 
पहिलो किस्ताको रकमले जग निर्माण गर्नसमेत पर्याप्त नहुने पीडितको गुनासो छ। दसैँका समयमा अनुदानको पहिलो किस्ता रकम दिएकाले कतिपयले त्यो रकम दसैँ मनाउन खर्च गर्ने भएकालेसमेत आवास निर्माण हुन नसकेको बताएका छन्।
 
जिल्लाको हेलम्बु, गुन्सा, गुम्बा, सेलाङलगायतका अति विकटका गाविसका भूकम्पपीडित भने हिँउको चिसो र चिसोबाट हुने निमोनिया लगायतका रोग झेल्दै आएका छन्। तर स्थायी आवास निर्माणका लागि उनीहरुसंग आवश्यक पर्ने रकम नभएकाले पुनःनिर्माण हुन नसकेको हेलम्बुका साङ्गे ह्यल्मो बताउँछन्।
 
सरकारले उपलब्ध गराएको पहिलो किस्ता वापत रु. ५० हजारबाट घरको जग समेत खन्न नसकिने काले गोलेले गुनासो गरे।
 
चिसो बढ्दै जादाँ टिनको छानोमा बस्नुपर्ने बाध्यताका कारण उनीहरु निमोनियाको सिकार समेत बन्दै गएका छन्। विशेषगरी बालबालिका प्रभावित छन्।
 
सरकारको अनुदानबाट आवास निर्माण गर्न नसकिने भएपछि अहिले जिल्लाको विभिन्न गाविसका भूकम्पपीडितले ऋण गरेरै भए पनि दिनरात खटेर भूकम्प प्रतिरोधात्मक घर बनाउन लागि परेको मेलम्ची नगर विकास समितिका अध्यक्ष प्रकाश श्रेष्ठले बताए।रासस



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell