भोजपुर : भोजपुरको एक मात्र टक्सार विमानस्थल स्तरोन्नतिको काम सुरु भएसँगै हवाई उडान बन्द भएको छ।
भूकम्प, नाकाबन्दी र बर्सातले गर्दा रोकिएको काम आज (मङ्सिर २४) देखि सुरु हुने भएकाले हवाई उडान तीन महिनाका लागि बन्द हुने विमानस्थल प्रमुख दुर्गामणि चौधरीले जानकारी दिए।
कालोपत्रको कामका लागि ४० भन्दा बढी कामदार र इन्जिनियर काममा खटाइसकिएको छ भने आवश्यक निर्माण सामग्रीसमेत जुटाइसकिएको छ। २०३६ यता सञ्चालनमा आएको एक मात्र विमानस्थल स्तरोन्नति र कालोपत्रको काम ३ वर्षअगावै ०७१ असारमा सुरु भएको थियो तर भूकम्प, नाकाबन्दी र बर्सातमा सडक हिलाम्मे भएर ढुवानी समस्या भएपछि म्याद गुज्रिएको ६ महिना बितिसक्दासमेत काम सम्पन्न हुन सकेको थिएन।
पाँच सय ४५ मिटर लम्बाइ र २० मिटर चौडाइ रहेको विमानस्थल आगामी फागुन २५ गतेसम्मका लागि बन्द हुन लागेको हो। कालिका प्यासिफिक जेभी कन्सट्रक्सनले रु पाँच करोड २१ लाखमा निर्माणको जिम्मेवारी लिएको छ। चाँडै कालोपत्र सकिने र नियमित उडान हुने अपेक्षा स्थानीयवासीले गरेका छन्।