PahiloPost

May 19, 2024 | ६ जेठ २०८१

दासढुंगा झैँ गोप्य रहेन : यस्तो छ पूर्व गृहमन्त्री घिमिरेको जीप दुर्घटनाको प्रतिवेदन



केपी ढुंगाना

दासढुंगा झैँ गोप्य रहेन : यस्तो छ पूर्व गृहमन्त्री घिमिरेको जीप दुर्घटनाको प्रतिवेदन

२०७३ असोज ९ गते दिउँसो पूर्व गृहमन्त्री माधवप्रसाद घिमिरे चढेको जीप दुर्घटना भएको खबर आयो जसले २३ वर्षअगाडि दासढुंगामा भएको मदन-आश्रित चढेको जीप दुर्घटनालाई एकाएक सम्झन बाध्य बनायो। 

२०५० जेठ ३ मा भएको हाइ प्रोफाइल दुर्घटनाकै प्रकृतिमा भएको यो अर्को दुर्घटना थियो। खिलराज रेग्मी नेतृत्वको सरकारको गृहमन्त्री रहेका घिमिरेको दुर्घटनामा पनि कुनै षड्यन्त्र छैन? संविधानसभा विघटनपछिको अन्योलपूर्ण राजनीतिक अवस्था रहँदा सफल रुपमा संविधानसभाको दोस्रो निर्वाचन सफल गराउन नेतृत्वदायी भूमिका खेलेका घिमिरेको दुर्घटनामा शंका गर्नुपर्ने आधारहरु धेरै थिए। त्यसमाथि उनी मुख्य सचिवसमेत भइसकेका व्यक्ति। दुर्घटना नियोजित त थिएन?

मुक्तिनाथको दर्शन गरेर घिमिरे परिवार मुस्ताङबाट काठमाडौं फर्कँदै गर्दा साढे ४ बजेतिर चितवनको दारेचोक गाविस–३ मा पृथ्वी राजमार्गको नौबिसे–मुग्लिङ सडक खण्डको घोप्टेभीरमा दुर्घटनामा परेको थियो। 

दुर्घटनास्थलमा पूर्व गृहमन्त्री घिमिरेको आमा चैतन्यकुमारी र अंगरक्षक सशस्त्र प्रहरी नायब निरीक्षक रामचन्द्र कार्कीको शव फेला पर्यो । घिमिरेसँगै उनका भाइ, नातेदारहरु मोहन घिमिरे र नारायणप्रसाद काफ्ले जीपसँगै बेपत्ता भए। नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरी खोजीमा खटियो।

जीपमा सवार कसैको निधन, कोही बेपत्ता तर चालक नेपाल प्रहरीका हवल्दार विष्णुबहादुर राई घाइते अवस्थामा जीवितै फेला परे।

गृहमन्त्री विमलेन्द्र निधि घटनास्थलमै पुगेर हराइरहेका घिमिरे र उनको परिवारका सदस्य खोज्न निर्देशन दिए। दुर्घटनाको कारण पत्ता लगाउन नेपाल प्रहरीका पूर्व प्रहरी प्रमुख कुवेरसिंह रानाको संयोजकत्वमा आयोग गठन गरियो।

घिमिरेको दुर्घटना सम्बन्धी अनुसन्धानका लागि गठन भएको आयोगले २ महिनाको अनुसन्धानपछि बिहीबार गृहमन्त्री निधिलाई प्रतिवेदन बुझाएको छ। यो प्रतिवेदन भने मदन भण्डारीको दासढुंगा झैँ गोप्य रहेन।

पहिलोपोस्टलाई प्राप्त दुर्घटनासम्बन्धी प्रतिवेदन अनुसार आयोगले यसलाई 'कतै षड्यन्त्रपूर्वक घटेको घटना त हैन?' भन्ने पाटोलाई महत्व दिएर अनुसन्धान गरेको देखियो। 

यस्तो छ प्रतिवेदन 


दुर्घटना मानवीय त्रुटीका कारण हो या अन्य केही षड्यन्त्र भन्ने केलाउन राना नेतृत्वको आयोगले घटनाका प्रत्यक्षदर्शी, दुर्घटनामा परेका घिमिरे परिवारका सदस्य, बडी गार्ड र चालक विष्णु राईको मोबाइल कल डिटेल र एसएमएसको विश्लेषण, घाइते अवस्थामा राईलाई फेला पार्ने व्यक्ति, राईको शारीरिक अवस्था, उनको बयान र दुर्घटनाको प्रकृतिलाई मुख्य आधार बनाएको छ।

प्रतिवेदन अनुसार मोबाइलको कल डिटेल र म्यासेजका अभिलेख विश्लेषण गर्दा शंका गर्नुपर्ने, अपराधजन्य शंकास्पद सूत्र वा संकेत फेला परेन। 
गम्भीर दुर्घटनामा घाइते भएका चालक विष्णु राईले बयानमा घिमिरेले, ‘तिमी थाक्यौ होला, पछाडि गएर सुत भनेपछि जीपको पछिल्लो भागमा गएर सुतेको, एक्कासी जीप बजारिएपछि निन्द्रा खुल्दा पानीमा फेला पारेको र पौडिएर नदी किनारमा आएको’ बयान दिएका छन्। 

अनुसन्धानको क्रममा आयोगले चालकको उद्दार गर्ने दारेचोक–४ चितवनको विमला श्रेष्ठसँग कुराकानी गरेका थिए। उनले चालक राईलाई देख्दा ‘पानीले भिजेको, खुट्टामा जुत्ता नभएको, पाइन्ट र खुट्टामा बालुवा लागेको, निधारबाट रगत आएको, हातको पाखुरा लछारिएको घाउ, टाउको छाम्दा टुटुल्को रहेको र आत्तिएर मलाई बचाउनुहोस् भनिरहेको’ बताएकी थिइन्। 

राईको प्रारम्भिक बयान र श्रेष्ठको बयानबीच तालमेल मिल्यो।

ज्यान जाने जोखिम नलिएको निश्कर्ष

 दुर्घटनापछिको चालक राईको शारीरिक अवस्थालाई समेत आयोगका अधिकारीले विश्लेषण गरे।  घाइते अवस्थामा उद्धार गरिएका राईको प्रारम्भमा भरतपुर अस्पतालमा उपचार गरिएको थियो। त्यहाँ थप उपचार सम्भव नभएपछि काठमाडौं ल्याएर प्रहरी अस्पतालमा भर्ना गरिएको थियो। दुर्घटनाका कारण उनको बायाँतर्फका नवौं र दशौं स्थानका करङहरु भाँचिएको देखियो। सबै विवरण खुलेपछि षड्यन्त्रपूर्वक दुर्घटना गराइएको भए राईले आफ्नै ज्यान जाने गरी जोखिम नलिने निष्कर्षमा आयोगका अधिकारी पुगेका छन्।

‘निज स्वयं आफूलाई त्यस्तो ज्यान जोखिममा पार्ने खालको घाउ चोटपटक बेहोर्ने गरी कुनै अन्यथा शंकास्पद कार्य गरेको वा गर्न सक्ने अवस्था रहेको भन्ने यकिन गर्ने स्पष्ट तथ्य र आधार नदेखिएको,’ प्रतिवेदनमा उल्लेख छ। 

कसले चलाएको थियो गाडी?


दुर्घटनाको समयमा गाडी घिमिरेले चलाएको भनिए पनि तत्काल पुष्टिका लागि राईको बयान बाहेक अन्य आधार थिएन। अनुसन्धानमा आयोगले दुर्घटनाको समयमा चालक सिटमा राई नभएर घिमिरे रहेको पुष्टि गर्ने थप आधार समेत फेला पार्यो ।

प्रतिवेदन अनुसार आयोगले घिमिरे लगायतका व्यक्ति चढेको सेतो स्कर्पियो जीप दमौलीको सदरमुकामको चोकमा उत्रिएको अवस्थाको सिसिटिभी फुटेज फेला पारेको थियो।  सो फुटेजमा गाडिबाट ओर्लिएको र अघि बढेको दृष्य कैद भएको थियो।

उनीहरु ओर्लिएको केही बेरमा पुनः सबै जना जीपमा चढेका थिए। जीपमा चढ्दा को कताबाट चढेका थिए भन्ने दृष्यको आधारमा अनुसन्धान आयोग जीप घिमिरेले चलाएको निष्कर्षमा पुगेको थियो।

‘जीपमा चढिरहेका ब्यक्तिहरुको पहिचान र निजहरु जीपमा चढ्ने क्रमलाई अध्ययन गर्दा चालकको स्थान भएको ढोकाबाट पूर्व गृहमन्त्री माधवप्रसाद घिमिरे जीपमा सवार भएको, निजको पछाडिको सीटमा जीपको दाहिने ढोकाबाट पहिले नारायणप्रसाद काफ्ले र त्यसपछि प्रकाश घिमिरे चढेको र सबैभन्दा अन्तिममा जीपको बीचको बायाँ ढोकाबाट अंगरक्षक रामचन्द्र कार्की चढेको देखिएकाले ड्राइभिङ सिटमा घिमिरे,  उनको सिट पछाडि भाइ प्रकाश, प्रकाश घिमिरेको बायाँको सीटमा काफ्ले र सबैभन्दा बायाँको सीटमा अंगरक्षक कार्की रहेको देखिन आएको छ।’

चालक राईको बयान सनाखत कागज, दमौली, आँबु खैरनी र मुग्लिङमा राखिएका सिसिटिभी फुटेजको दृष्य  लगायतबाट घिमिरेले बेला बखतमा आफू चढ्ने गरेको सवारी साधन आफैले चलाउने गरेको र सो दुर्घटना हुँदाका बखत जीपको चालक उनी स्वयं नै रहेको देखिन आएको प्रतिवेदनमा उल्लेख छ।

प्रत्यक्षदर्शीको बयान

घिमिरेको जीप दुर्घटना हुँदा दाङ–काठमाडौं चल्ने ना ५ ख ९८१९ नम्बरको बसका चालक विष्णु परियार र बसको क्याविनमा रहेका यात्रु सुमन केसीले प्रत्यक्ष देखेका थिए। यी दुवैको बयान अनुसार घिमिरेले चलाएको जीपले आफूभन्दा अगाडि रहेको नम्बर नखुलेको ट्रकलाई उछिन्ने क्रममा अकस्मात सडकबाट उछिट्टिएर तल भीरमा खसेको थियो। उनीहरुले हेर्दा घटनास्थलमा जीपको सेतो टुक्रा मात्रै देखिएको थियो। आयोगले दुर्घटनाको कारण र अवस्थाको विश्लेषण गर्न यी दुवैको जानकारीलाई प्राथमिकता दिएको देखिन्छ।

आयोगले जीप खसेको बिन्दु र जमिनमा ठोकिएको स्थानको दुरी पहिचान गर्न जिपिएसको प्रयोग गरेको थियो। 

जिपिएसको सहायताले दुर्घटना भएको जीप खसेको बिन्दु र पहिलो पटक जमिनमा ठोकिएको स्थानको दुरीलाई आधार मानी भौतिक शास्त्रको गति सम्बन्धी सूत्र प्रयोग गरेर व्याख्या गरेको छ। आयोगले दुर्घटना हुँदा जीपको गति ४३ किलोमिटर प्रति घन्टाको रहेको र जमिनमा ठोक्किँदा ८२ किलोमिटर प्रतिघन्टाको गति रहेको निष्कर्ष निकालेको छ। 

दुर्घटनास्थल अति जोखिमपूर्ण ठाउँ हो। यसभन्दा ९० मिटर वर नै सो क्षेत्र दुर्घटनाका लागी जोखिमपूर्ण रहेको सूचना सहितको संकेत बोर्ड राखिएको छ। तर दुर्घटनास्थलमा कुनै संकेत छैन।

प्रतिवेदन अनुसार दुर्घटनाको कारण तीब्र गति र ओभरटेक मात्रै हैन, सो क्षेत्रको सडकको आकार पनि रहेको उल्लेख छ। दुर्घटना भएको क्षेत्र अगाडि र पछाडिको आकार अंग्रेजी 'एस' आकारको छ। त्रिशुली नदीतर्फको सडक किनारमा २८ मीटर लामो पाइपको रेलिङ समेत राखिएको छ। 
तर जहाँबाट घिमिरेको जीप खोलामा खसेको हो, त्यसको करिब ४ मिटर रेलिङ भाँचिएको छ। प्रतिवेदन अनुसार घिमिरेले चलाएको जीप खस्नुभन्दा करिब एक महिना अगाडि त्यही स्थानबाट ना. ३ ख ६०१७ नम्बरको मालवाहक ट्रक खसेको थियो। रेलिङ त्यही ट्रकका कारण भाँचिएको थियो। एक महिनासम्म रेलिङ बनाउन कसैले चासो दिएन।

यी सबैको आधारमा आयोगले निष्कर्ष निकाल्यो - ‘पूर्व गृहमन्त्री घिमिरे चढेको जीप दुर्घटना एक दुःखद सवारी दुर्घटना मात्र हो।’



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell