
यसअघि नै सिरिज जितिसकेको अष्ट्रेलियाले तेस्रो वान डे मा न्यूजिल्याण्डलाई ११७ रनले पराजित गर्दै ३ खेलको सिरिज क्लिनसिप गरेको छ। शुक्रबार मेलवर्नमा भएको तेस्रो वान डे मा फरी एकपटक डेविड वार्नर र बलरहरु अष्ट्रेलियाको जितमा नायक रहे।
म्यान अफ दि म्याच वार्नरले सिरिजमा लगातार दोस्रो शतक प्रहार गरेपछि टस जितेर पहिले ब्याटिङ गरेको अष्ट्रेलियाले निर्धारित ५० ओभरमा २६४ रन बनाएको थियो। जवाफमा न्यूजिल्याण्ड १४७ रनमा अलआउट भयो।
सुरुवातको ४ विकेट नियमित अन्तरमा झरेपनि वार्नरले उत्कृष्ट प्रदर्शन गर्दै १५६ रन बनाएपछि अष्ट्रेलियाले सम्मानजनक योगफल तयार पारेको थियो। १२८ बल खेलेका वार्नरले १३ चौका र ३ छक्का प्रहार गरे। यस वर्ष वार्नरले प्रहार गरेको यो सातौं वान डे तथा करियरको एघारौं शतक हो।
वार्नरले पाँचौ विकेटका लागि ट्रेभिस हेडसँग १०५ रनको साझेदारी गरे। हेडले ३७ रन जोडे। यस्तै जर्ज बेलीले २३, म्याथ्यु वेडले १४ तथा जेम्स फउकनरले १३ रन बनाए भने आरोन फिन्च ३ रन बनाएर आउट भए। कप्तान स्टिभ स्मिथ र मिचेल मार्सन खाता नखोली आउट भएका थिए।
न्यूजिल्याण्डका ट्रेण्ट बोल्टले ३ तथा मिचेन सान्टनर र ग्राण्ड डे होमले समान २ विकेट झारे।
जवाफमा २६५ रनको लक्ष्य पछ्याएको न्यूजिल्याण्ड ३६.१ ओभरमा १४७ रनमा अलआउट भयो। बलिङमा यसअघिका खेल भन्दा राम्रो प्रदर्शन गरेपनि ब्याटिङमा न्यूजिल्याण्डका कुनै पनि खेलाडीले राम्रो प्रदर्शन गर्न सकेनन्।
ओपनर मार्टिन गुप्टिलले सर्बाधिक ३४ रन बनाए भने र टम लाथमले २८ रन जोडे। कोलिन मुनरे २०, मिचने सान्टनर १५, कप्तान काने विलियनसन १३ तथा ग्राण्डहोम ११ रन बनाएर आउट भए। बाँकी ५ खेलाडीले दोहोरो अंक समेत छुन सकेनन्।
बलिङमा अष्ट्रेलियाका मिचेल स्टार्कले सर्बाधिक ३ विकेट लिए भने प्याट कमिङ्स, जेम्स फउकनर र ट्रेभिस हेडले समान २ विकेट लिए। जोस हाजलउडले एक विकेट हात पारे।
सिरिजमा दुई शतक प्रहार गर्दै कुल २९९ रन बनाएका वार्नर म्यान अफ दि सिरिज घोषित भए।