ललितपुर : टाई मिलाइदिने भन्दै विद्यार्थीलाई यौन दुर्व्यवहार गरेको आरोपमा पक्राउ परेका ललितपुरको एक विद्यालयका लेखापाल जेल पुगेका छन्। ललितपुरको कनिबहालमा रहेको एक विद्यालयका लेखापाल दीवाकर श्रेष्ठलाई जिल्ला अदालत ललितपुरले पुर्पक्षका लागी जेल पठाउने आदेश दिएको हो ।
विद्यालयका बालिकाहरुले उनले गोप्य अंगमा हात लैजाने गरेको बताएपछि अभिभावकहरुले विद्यालयमा जानकारी गराएका थिए । सोही आधारमा महानगरीय प्रहरी परिसर ललितपुरले उनलाई अनुसन्धानका लागि पक्राउ गरेको थियो ।
अनुसन्धानको क्रममा उनले टाई मिलाई दिने, परिचय पत्र मिलाई दिने बहानामा यौनजन्य दुर्व्यवहार गर्दै आएको खुलेको भन्दै प्रहरीले अनुसन्धानको प्रस्तावित राय बुझाएपछी जिल्ला न्यायधिवक्ताको कार्यालयले जिल्ला अदालतमा मुद्दा दायर गरेको थियो ।
थुनछेकको बहसकोक्रममा अदालतबाट मुद्दाको अन्तिम किनारा नलागेसम्म श्रेष्ठलाई जेलमा राख्ने आदेश आएपछि उनलाई नक्खु कारागारमा राखिएको छ।
तस्विर : odishasuntimes.com