सोलुखुम्बु : चौलाखर्क–८ सोलुखुम्बुका ९२ वर्षीय भीमबहादुर बस्नेतले सामाजिक सुरक्षा भत्ताबापत पाएको रकमबाट गाउँमा पाँच किलोमिटर गोरेटो बाटो मर्मत तथा सरसफाइ गराएका छन्।
बस्नेतले गत वर्ष प्राप्त गरेका एक वर्षको सामाजिक सुरक्षा भत्ताबापतको रकम १२ हजार खर्च गरेर खाजाको व्यवस्था गरी स्थानीय युवामार्फत बाटो मर्मत तथा सरसफाइ गरेका हुन्।
स्थानीय मानबहादुर बस्नेतका अनुसार वृद्धले खाजाको व्यवस्था गर्छु तिमीहरु बाटो मर्मत गर भनेपछि गाउँका ३० भन्दा बढी युवायुवती मिलेर बाटो मर्मत गरेका हुन्। उनीहरुसँग वृद्ध बस्नेत पनि कोदालो लिएर बाटो मर्मत गर्न निस्केका थिए।
गाउँका मानिस आवातजावात गर्ने तथा बालबालिका हिमगङ्गा उच्च मावि जाने सो बाटो जीर्ण बनेकाले मर्मत गर्नुपर्छ भन्दै वृद्ध भीमबहादुरले गत वर्ष गाउँ परिषद्मा बजेट माग गरेका थिए। तर बजेट प्राप्त नभएपछि गत वर्ष मासिक एक हजारका दरले प्राप्त गरेको भत्ता खर्च गरेर युवामार्फत बाटो मर्मत गरेका हुन्।
बाटो मर्मत पछि वृद्ध बस्नेतले भने, 'यस वर्ष त झनै महिनाको २ हजार भएको छ, अर्को वर्षसम्म बाँचे भने यो वर्षको २४ हजार पनि गाउँमा बाटो सजिलो बनाउन खर्चन्छु।' बस्नेतले गाउँमा बाटो बनाउँदा पछि आफू स्वर्ग जाने बाटो सहज हुने विश्वास व्यक्त गरे। रासस