काठमाडौं : परराष्ट्रमन्त्री डा प्रकाशशरण महत इन्डोनेसियाको बालीमा मङ्सिर २३ र २४ गते आयोजित बाली डेमोक्रेसी फोरमको नवौँ सम्मेलनमा सहभागी भई आज साँझ स्वदेश फर्किँदैछन्।
मन्त्री महतले डेमोक्रेसी फोरमको नवौँ सम्मेलनलाई सम्बोधन गरेका थिए। बाली डेमोक्रेसी फोरम एसिया तथा प्रशान्त क्षेत्रमा प्रजातन्त्रको विकास र संवर्द्धन तथा अन्तर्राष्ट्रिय सहयोग र समन्वय अभिवृद्धिका लागि इन्डोनेसिया सरकारको अग्रसरतामा सन् २००८ मा स्थापना गरिएको अन्तरसरकारी मञ्च हो।
भ्रमणका अवसरमा त्यहाँका समकक्षी शमन्त्री रेट्नो एल पी मार्सुदीलगायत सम्मेलनमा सहभागी विभिन्न देशका प्रतिनिधिमण्डलका नेताहरुसँग पनि उनले भेटवार्ता गरी आवसी हितका विषयमा कुराकानी गर्नुभएको परराष्ट्रमन्त्रीका प्रेस संयोजक एकराज पाठकले जानकारी दिए।
धर्म, प्रजातन्त्र र बहुलबाद भन्ने नाराका साथ सम्पन्न सो सम्मेलनमा विश्वका ९४ देशका विदेशमन्त्री, मन्त्री तथा प्रतिनिधिहरुको सहभागिता रहेको थियो।
सो सम्मेलनमा नेपाली प्रतिनिधि मण्डलको नेतृत्व गर्दै मन्त्री महत गत मङ्गलबार त्यसतर्फ प्रस्थान गरेका थिए।रासस