
स्पानिस ला लिगा अन्तर्गत शनिबार भएको खेलमा दोस्रो स्थानको बार्सिलोनाले ओसासुनालाई ३-० ले पराजित गरेको छ। जितसँगै बार्सिलोनाले शीर्ष स्थानको रियल मड्रिडसँग अंकदुरी ३ मा झारेको छ।
बार्सिलोनाको १५ खेलबाट ३१ अंक भएको छ भने एक खेल कम खेलेको रियल ३४ अंकसहित शीर्ष स्थानमा छ।
पहिलो हाफमा घरेलु मैदानमा ओसासुनाले क्याटलाना क्लबलाई गोलरहित बराबरीमा रोकेपनि बार्सिलोनाले तीनै गोल दोस्रो हाफमा गरेको हो। लियोनल मेसीले इन्जुरी समयमा व्यक्रिगत दोस्रो गोल थपेपछि बार्सिलोनाले ३-० को जित हात पारेको हो।
५९ औं मिनेटमा सुवारेजले अल्वाको पासमा गोल गर्दै बार्सिलोनालाई अग्रता दिलाएका हुन्। मेसीले ७३ औं मिनेटमा अल्वाकै पासमा गोल गर्दै बार्साको अग्रता दोब्बर पारे। इन्जुरी टाइमको दोस्रो मिनेटमा मेसीले बार्सिलोनाका लागि तेस्रो गोल गरे।
ओसासुना विरुद्ध २ गोल गरेसँगै मेसी ला लिगामा सर्बाधिक गोलकर्ताको शीर्ष स्थानमा उकलेका छन्। मेसीको गोलसंख्या ११ पुगेको छ।
यस्तै रियलका क्रिस्टियानो रोनाल्डो र सुवारेजको समान १० गोल छ।