
काठमाडौँ : नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच ४५ मिनेट लामो छलफल भएको छ। एमाले संसदीय दलको कार्यालयमा दुई नेताबीच संसदको गतिरोध र निर्वाचनका विषयमा छलफल भएको हो।
ओलीसँगको भेटमा देउवाले संसदको गतिरोधका कारण निर्वाचन सम्बन्धि महत्वपूर्ण कानुनहरु अगाडि बढ्न नसकेको उल्लेख गर्दै अवरोध नगर्न आग्रह गरेका थिए।
बैठकपछि देउवाले ओली पनि संसदमा निर्वाचन सम्बन्धि कानुन पारित गरेर अगाडि बढ्न सकारात्मक रहेको बताए।
'स्थानिय निकाय निर्वाचन र संसदमा जारी गतिरोधका विषमया छलफल भयो', बैठकपछि देउवाले भने, 'जारी गतिरोध अन्त्य गर्ने विषयमा उहाँपनि सकरात्मक हुनुहुन्छ। यसका लागि बृहत परामर्श गर्न थप छलफल गर्छौँ।'
बैठकमा एमाले अध्यक्ष ओलीले निर्वाचन कानुन अगाडि बढाउन एमालेले कुनै बाधा अवरोध खडा नगर्ने बताएका थिए। भेटमा सहभागि एमाले संसदीय दलका उपनेता सुवास नेम्वाङले राजनीतिक गतिरोध र संसदमा जारी गतिरोध जतिसक्दो छिटो टुंग्याउनुपर्ने निष्कर्षामा दुवै दल पुगेको बताए।
'निर्वाचन कानुन तथा अन्य महत्वपूर्ण कानुन ल्याउँदा एमालेले सदन अवरोध नगर्ने अध्यक्षले उहाँलाई(देउवालाई) जानकारी गराउनुभयो', नेम्वाङले भने, 'निर्वाचन सम्बन्धमा एमाले सरकारलाइ सघाउन तयार छ।'
उनले प्रमुख तीन राजनीतिक दलबीच संसदको गतिरोध, निर्वाचन र संविधान संशोधनका विषयमा छिट्टै छलफल हुने समेत जानकारी दिए।
साढे ३ बजे एमाले संसदीय दलको कार्यालय पुगेका देउवा सवा चार बजे बाहिरिएका थिए।