PahiloPost

May 2, 2024 | २० बैशाख २०८१

चौकीभित्र ११ प्रहरी, बाहिरबाट आगो



सविन ढकाल

चौकीभित्र ११ प्रहरी, बाहिरबाट आगो

​​काठमाडौं : बिहान ११:३० जति बजेको थियो । हामी ११ जना प्रहरी बिटभित्रै थियौं। कोही खाना पकाउँदै थिए, कोही सरसफाई गर्दै। ड्युटीमा खटिने समय बाँकी नै रहेकाले हतियार कोत कोठामै थियो। 

एक्कासी बिटको टिनको छाना बज्यो। कसैले ढुंगाले हाने झै लाग्यो। एकै छिनमा ग्वारग्वार्ती ढुंगा बर्सिन थाल्यो। लौ के भयो? हामी आत्तियौं। के गर्ने मेसो नै पाउन सकेनौं। बिटको झ्यालबाट बाहिर चियाउँदा त भिड नै जम्मा भइसकेको रहेछ। उनीहरु हामीलाई गाली गर्दै ढुंगा हानिरहेका थिए। तर किन ढुंगा हानिरहेका छन् पत्तै भएन। 

ड्युटीमा खटिने मोटरसाइकल बिट बाहिरै थियो। केही केटाहरु मोटरसाइकलतिर लागे। उनीहरुले मोटरसाइकल ढाले र पेट्रोल निकालेर आगो सल्काइदिए। कार्यालयको ४ वटा र हाम्रो आफ्नै ३ वटा मोटरसाइकल दनदनी बल्न थाल्यो। आक्रोशित समूहका केही ब्यक्ति बिटमा समेत पट्रोल छर्किँदै थिए। मार्ने पो भए भनेर बिटको ढोका खोल्न खोजेको खुलेन। उनीहरुले बाहिरबाट चुकुल लगाइसकेछन्।

आइतबार दिउँसो साढे १२ बजे जोरपाटी नयाँबस्तीमा रहेको प्रहरी बिटमा पुग्दा प्रहरी हवल्दार कृष्णहरि बजगाई लगायतकाहरु त्रसित मुद्रामा थिए। उनले घटना विवरण सुनाउँदा नजिकै रहेका प्रहरी जवान कृष्ण मल्लको मुहारमा त्रास प्रष्टै देखिन्थ्यो।

‘नजिकै ग्याँस सिलिन्डर थियो, त्यो पड्काएर मार्छन् कि क्या हो जस्तो लाग्यो, धन्य जोगियौं।’



शनिबार बेलुका उपचारका लागी बौद्धमा रहेको स्तुपा अस्पताल लैजाँदा लैजाँदै ३२ वर्षीय ट्याक्सी चालक राजकुमार लामाको बाटैमा मृत्यु भयो। प्रहरीले लामालाई ट्याक्सीमा राखेर स्तुपा अस्पताल लैजाँदा उनका परिचित त्यहीँबाट पछि लागेका थिए।

स्तुपाका चिकित्सकले लामाको मृत्यु भइसकेको बताए पनि उनको आफन्तले पत्याएनन् र नेपाल मेडिकल कलेजमा पुर्‍याए। त्यहाँका चिकित्सकले परीक्षण गरेर ‘केही समय अगाडि नै उनको मृत्यु भएको’ बताए। रातभर शब अत्तरखेलमा रहेको मेडिकल कलेजमै बस्यो। बिहान प्रहरीले पोष्टमार्टमका लागि शब शिक्षण अस्पताल महाराजगञ्ज पठायो।

यत्तिखेरसम्म केही भएको थिएन। एक्कासी साढे ११ बजेतिर लामाका आफन्त बिट वरिपरी भेला हुन थाले। लामाको मृत्यु शंकास्पद रहेको उनीहरुको दावी थियो। प्रहरीले अनुसन्धान नै गरेर भन्दै उनीहरु आक्रोशित हुन थाले। 

विस्तारै लामाको आफन्तसँगै भिड बढ्न थाल्यो। घटनाका बेला लामासँगै एक महिला थिइन्। उनले हत्या गरेको र प्रहरीले उनलाई जोगाउन खोजेको आफन्तको दावी थियो। प्रहरीविरुद्ध आफन्त आक्रोशित थिए। त्यहीबीच भिडमा रहेका केही युवाले बिटमा आक्रमण शुरु गरे। केही बिटभित्रै छिरेर आगो लगाउन थाले। 


बिटका प्रहरीले मोबाइल मार्फत् स्थानीयले बिट घेरेर आगो लगाउन थालेको जानकारी माथिल्लो निकायमा दिएलगत्तै महानगरीय प्रहरी बृत्त बौद्ध र गौशालाबाट उनीहरुलाई जोगाउन करिब एक सय प्रहरी त्यहाँ पुगे।

थप टोली पुग्दा बिटमा रहेका प्रहरी बिटभित्रै थिए। बाहिर स्थानीयको भिड बढ्दै थियो। सहयोगका लागि पुगेको टोलीले भिड पन्छाउन गरेको प्रयास प्रभावकारी नभएपछि २ राउण्ड हवाई फायर भयो र बिट घेरेर बसेको भिड तितरबितर भयो। प्रहरीले १३ जनालाई नियन्त्रणमा थियो। 
प्रहरी र आफन्तका आ-आफ्नै अडान


दोलखा, चरिकोटका लामा नयाँबस्तीमा डेरामा बस्दै आएका थिए। उनी पेशाले ट्याक्सी चालक हुन्। शनिवार बेलुका करिब साढे १० बजे प्रहरी बिट भन्दा करिब २ सय मिटर अगाडि उनलाई प्रहरीले फेला पारेको थियो।

प्रहरीको दावी अनुसार उनी अत्याधिक मदिरा सेवन गरेर अचेत अवस्थामा लडिरेहका थिए। उनको ट्याक्सी केही पर सकुशल नै थियो। प्रहरीले लामालाई ट्याक्सीमा राख्यो। लामासँगै उनी डेरामा बस्ने घरबेटीको छोरा र एक युवती समेत सँगै थिए। उनीहरुले नजिकै रहेको स्तुपा अस्पताल पूर्‍याए पनि चिकित्सकले बाटैमा मृत्यु भएको घोषणा गरे। 

लामा आफन्त भने प्रहरीको दावीप्रति विश्वस्त देखिएनन्। उनीहरुको दावी अनुसार एक युवतीको कारण लामाको मृत्यु भएको हो। प्रहरी अहिले ती युवतीलाई जोगाउने प्रयासमा रहेको मृतकका दाजु राजु लामाले दावी गरे। 

उनको प्रश्न थियो भाइलाई ट्याक्सीमा हाल्दा समेत नजिकै रहेको आफन्तलाइ किन खबर गरेन?’  

बौद्ध बृत्तका प्रहरी निरीक्षक आयुष जोशी अत्याधिक रक्सी खाएर अचेत अवस्थामा भेटिएका लामालाई प्रहरीले सघाउँदै उपचारका लागि अस्पताल पुर्‍याएको दावी गरे। 

‘प्रहरीले उनको ज्यान जोगाउन सघाएको हो, कुनै षड्यन्त्र गरेको छैन,’ उनले भने।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell