PahiloPost

May 11, 2025 | २८ बैशाख २०८२

काँग्रेस-एमाले नेताको लगानी रहेको केवलकारको भवन स्थानीयले भत्काए



पहिलोपोस्ट

काँग्रेस-एमाले नेताको लगानी रहेको केवलकारको भवन स्थानीयले भत्काए

दोलखा :नेपाली काँग्रेस र एमालेका नेताको लगानीमा कालिञ्चोक भगवती मन्दिर जान बनिरहेको केबुलकारको भवन स्थानीयले भत्काएका छन्। अनुमति नै नलिई वन क्षेत्रभित्र केबुलकारके संरचना बनाएको भन्दै उनीहरुले भवन भत्काइदिएका छन् भने जिल्ला वन कार्यालय दोलखाले भवन बनाउन रोक लगाएको छ।

कालिञ्चोक दर्शन प्रालिले वन अतिक्रमण गरेर भवन बनाएको भन्दै स्थानियले कालिञ्चोक गाविसको कुरीमा निर्माण हुँदैगरेको केबुलकार कम्पनीका भवन भत्काइदिएका छन् । कुरीमा निर्माण भइरहेको कार्यालय भवनका झ्याल, ढोका र गाह्रो भत्काएर संरचना हटाइएको छ ।

कालिञ्चोक क्षेत्रस्थित लापिलाङ गाविसको झरेनी सामुदायिक वन क्षेत्रको जग्गाभित्र बन्न लागेको केबुलकारले अनुमति नलिएको र कानुनी प्रक्रिया नपुर्याएको जिल्ला वन अधिकृत विष्णुप्रसाद भण्डारीले बताए।

झरेनी वन उपभोक्ता समूहका अध्यक्ष हिरा पाण्डेले वन अतिक्रमण गरेर जबर्जस्ती निर्माण थालेकाले उपभोक्ताले स्वःस्फूर्त रुपमा भत्काएको बताए।

निर्माण गरिँदै गरेको क्षेत्र २०५२ सालपछि ३५ दिने सूचना जारी गरेर जिल्ला वन कार्यालयले स्थानीयलाई सामुदायिक वनका रुपमा हस्तान्तरण गरेको थियो। २६ करोडको लागतमा केवलकार बन्दै थियाे। प्रालिले २०७४ भित्र निर्माणको काम सकिने दावी गरेको थियो।

साे क्षेत्रमा केवलकार बनाउन शुरु भएदेखीनै स्थानीय र केवलकार बनाउने प्रालीविच विवाद जारी थियाे । कालिञ्चोक दर्शन प्रालिले वन अतिक्रमण गरेको भन्दै स्थानीयले जिल्ला वनमा उजुरी दिए पनि कम्पनीले निर्माणको काम जारी नै राखेको थियाे।

केबुलकारको कम्पनी व्यवस्थापन पक्षले भने निर्माण हुन लागेको क्षेत्र जिल्ला वनको नभई गुठीको जग्गा भएकाले गुठी संस्थानसँग सम्झौता गरेको दाबी गरेको छ । राससका अनुसार केबुलकारमा नेपाली काँग्रेस दोलखाका सभापति रुद्रबहादुर खड्का, एमालेका जिल्ला नेता बालकृष्ण शिवाकोटीलगायतको लगानी रहेको छ । राससको सहयोगमा

(प्रतीकात्मक फोटो समाचारसँग सम्बन्धित छैन)



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell