काठमाडौं : २०७० जेठ ४ गते पेरिसडाँडामा पुष्पकमल दाहाल प्रचण्डबाट 'राजनीतिक टीका' थाप्दै गणतान्त्रिक अजेन्डामा समाहित भएकी नायिका रेखा थापा सोमबार राजतन्त्रको पुन:स्थापनालाई मुद्दा बनाएको राष्ट्रिय प्रजातन्त्र पार्टी प्रवेश गर्दै छिन्।
जेठमा माओवादी हेडक्वाटर पेरिसडाँडामा भएको कार्यक्रममा उनलाई प्रचण्डले एमाले नेतृ उर्मिला अर्यालसँगै रातो टीका लगाइदिएर पार्टीमा प्रवेश गराएका थिए। उनै रेखा आज कमल थापाबाट टीका लगाए गणतन्त्रवादीबाट राजतन्त्रवादीमा रुपान्तरण हुँदै छिन्।
उनले माओवादी त्यागेर राप्रपामा जानुको कारण 'आफ्नो रगत-रगतमा हिन्दुत्व भएकाे' मनोरञ्जन अनलाइन मज्जाको टिभी डटकमसँग बताएकी छन्।
दसैंमा रातो टीका र जमरा, तिहारमा सप्तरङ्गी टीका, साउनमा मेहन्दी अनि तीजमा रातो चुरा लगाएर नाच्न रुचाउने भन्दै उनले राप्रपामा हिन्दु चाडप्रतिको सम्मान देखेर नै पार्टी प्रवेश गर्न लागेको बताएकी छिन्।
केही समयअघि पहिलोपोस्टसँगको कुराकानीमा उनले 'म प्रचण्डको फ्यान हो। अहिले पनि हुँ' भनेकी थिइन्।
के उनले पार्टी छोड्नुको मुख्य कारण प्रचण्डले उनको अपेक्षा पूरा गर्न नसक्नु नै हो त?
'म माओवादीमा कुनै पनि रुपले आबद्ध थिइनँ। म सधैं स्वतन्त्र छु,' उनले भनेकी छिन्। आफूलाई क्रान्तिकारी अभिनेत्री बताउने उनी अहिले 'क्रान्ति' शब्द माओवादीको मात्र नभएको तर्क गर्न थालेकी छिन्।
उसो त केपी ओलीको पनि उखान टुक्का खुब मन पर्छ भन्ने रेखा आमन्त्रित केन्द्रीय सदस्यको रुपमा राप्रपा प्रवेश गर्न लागेकी हुन्। राप्रपा पार्टी एकता भएकै दिन गायिका कोमल वली पनि राप्रपा प्रवेश गरेकी थिइन्।