
काठमाडौँ : सोमबार बिहान महानगरीय ट्राफिक प्रहरी महाशाखा अन्तर्गतका प्रहरी सिंहदरबारको मुख्य गेटअगाडि लेन नियम पालना गराउन खटिएका थिए। उनीहरु लेन नियम पालना नगर्नेहरुलाई कारबाहीका लागि चिट पनि काट्दै थिए।
एक मोटरसाइकल चालक भद्रकालीको बाटो हुँदै माइतीघरतर्फ मोडिन खोजे। तर उनलाई ट्राफिक प्रहरीले रोके। ती प्रहरीले लेन नियम पालना नगरेको भन्दै उनको कागजपत्र मागे। तर उनले आफूले पूर्ण रुपमा नियम पालना गरेको दावी गरे ।
कागजपत्रको विषयमा प्रहरीसँग उनको विवाद शुरु भयो।
प्रहरीले उनलाई भने, ‘लेन मिच्नुभयो, कागजपत्र निकाल्नुहोस्।‘
चालकले जवाफ फर्काए, ’मेरो गल्ती छैन। किन दिने कागजपत्र?’
दुई पक्षबीच सडकमा चर्काचर्की शुरु भयो। चालकले निकै समयसम्म गल्ती नभएको जिकिर गरेको घटनाका प्रत्यक्षदर्शी अनमोल शर्माले बताए।
विवादमा उत्रिएका चालक सडकमै सुते। सिंहदरबारअघि रहेको पृथ्वीनारायणको सालिकमुनि उनी लम्पसार नै परे।
लगत्तै प्रहरीले उनलाई सुतेको ठाउँबाट झ्याइकुटी पार्दै उठायो।
'अब सडक अवरुद्ध गर्नु भएन नि', प्रहरी निरीक्षक विनोदकुमार श्रेष्ठले पहिलोपोस्टसित घटनाबारे भने, 'उहाँले गल्ती गर्नुभएको थियो। हामीले उहाँलाई चिट दिएर पठाएका छौँ।'
पछिल्लो समय प्रहरीले राजधानीको सडकमा लेन नियममा कडाइ गर्दै आएको छ। लेन नियम पालना नगर्दा अधिकतम १५ सयसम्म जरीवाना तिर्नुपर्छ। कारवाहीमा परेको अवस्थामा लेन नियम सम्बन्धी कक्षामा समेत सहभागी हुनुपर्ने प्रावधान छ।