काठमाडौं : नेपाल आउने हवाइजहाजले थप तीन ठाउँबाट प्रवेश गर्न पाउने भएका छन्। अहिले जताबाट आए पनि सिमराबाट मात्र नेपाल प्रवेश गर्न पाउने प्रावधान छ।
जनकपुर, महेन्द्रनगर र नेपालगन्जबाट समेत हवाइजहाजलाई नेपाल प्रवेश गर्न दिन भारत सकारात्मक भएको छ। यसका लागि आउँदो साता औपचारिक वार्ता समेत हुन लागेको छ। डिसेम्बर २० र २१ मा नयाँदिल्लीमा नेपाल र भारतको उड्डयन अधिकारीले वार्ता गर्न लागेका हुन्। यसमा छलफल प्रारम्भिक सहमति हुने पर्यटन मन्त्रालयका सहसचिव सुरेश आचार्यले बताए। भारतसँग नयाँ सहमति भएपछि यी जहाजले महेन्द्रनगर या नेपालगञ्जबाटै भित्रिन पाउनेछन्।
वार्ता गर्न नौ सदस्यीय नेपाली टोली भारत जान लागेको छ। आइतबार सम्पन्न मन्त्रीपरिषद् बैठकले नेपाल प्रवेश गर्ने रुट थपका लागि वार्ता गर्न टोली पठाउने निर्णय समेत गरेको हो।
नयाँ खुल्ने रुटले निर्माणाधीन निजगढ अन्तर्राष्ट्रिय विमानस्थल सहित भैरहवा र पोखरा अन्तर्राष्ट्रिय विमानस्थललाई सजिलो बनाउनेछ। विगत लामो समयदेखि नेपालले रुट थपका लागि पहल गर्दै आएको थियो।
रुट थप हुँदा नेपाल प्रवेश गर्ने जहाजलाई गन्तव्य छोटो हुनेछ। अहिले पश्चिम या पूर्व जता आए पनि भारतीय आकाशबाटै सिमरासम्मको यात्रा तय गर्नुपर्छ। त्यसपछि मात्र काठमाडौँको दिशा समाउन पाइन्छ।
यसले नेपाल-भारतका सीमावर्ती क्षेत्रमा ‘क्रस बोर्डर’ उडानलाई पनि सहज पार्ने नियामक निकाय नागरिक उड्डयन प्राधिकणका महाप्रवन्धक सन्जीव गौतमले बताए। एउटै गन्तव्यबाट मात्र नेपाल छिर्न र बाहिरिन पाउँदा सिमरा एयर ट्राफिक बढी थियो। अब त्यो पनि सहज हुनेछ।
नेपालको हवाई उड्ययन प्राधिकरणले लगातार माग गरेपछि चार ठाउँबाट प्रवेश अनुमति दिन भारतले ‘ग्रिन सिग्नल’ देखाएको सहसचिव आचार्यले बताए।
नयाँ रुट थप भएपछि मध्यपूर्वी देशहरुबाट नेपाल आउन छोटो पर्नेछ। यसले खाडी मुलुकबाट नेपाल आउने भाडा समेत कम हुने पर्यटन मन्त्रालयका अधिकारीहरु बताउँछन्।