
रत्ननगर (चितवन) : चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रअन्तर्गत चार वटा सामुदायिक वनले हात्ती सफारीका लागि अनुमति पाएका छन्।
पर्यटकलाई हात्तीमा चढाएर वन्यजन्तु अवलोकनका लागि सौराहा आसपासमा हात्ती सफारी हुँदै आएकामा अहिले चितवनको पश्चिम क्षेत्रमा समेत सफारीको अनुमति दिइएको हो।
निकुञ्जको बरन्डाभार उपभोक्ता समितिअन्तर्गत बाटुली मध्यवर्ती सामुदायिक वन, दक्षिणकाली मध्यवर्ती सामुदायिक वन, नवज्योति र वनदेवी मध्यवर्ती सामुदायिक वनलाई पनि हात्ती सफारीको अनुमति दिइएको हो।
यहाँ आठ वटा हात्ती सञ्चालन गर्ने अनुमति पाइएको र केही दिनमै हात्ती सफारी सुरु गरिने दक्षिणकाली मध्यवर्ती सामुदायिक वनका कोषाध्यक्ष विष्णु तिवारीले जानकारी दिए। उनका अनुसार चितवनको टिकौली करिडोर क्षेत्रमा रहेको विश्व रामसार सूचीमा सूचीकृत विसहजारी ताल आसपास क्षेत्रमा हात्ती सफारी गर्न लागिएको हो।
निकुञ्जका सूचना अधिकारी तथा सहायक संरक्षण अधिकृत नुरेन्द्र अर्यालले सामुदायिक वनको कार्ययोजनाअनुसार हात्ती सफारीको अनुमति दिइएको बताए।
चितवनमा आउने अधिकांश पर्यटकले हात्तीमा चढेर बाघ, गैँडा, भालु, गौरीगाई, चित्तल मृग, जरायोलजस्ता दुर्लभ वन्यजन्तु, चराचुरुङ्गी र गोही हेर्न मन पराउँछन्।
हात्ती सञ्चालनको अनुमति पाएका चार वटा सामुदायिक वन दुर्लभ एकसिङ्गे गैँडाको राम्रो बासस्थान मानिन्छ।रासस, फोटो : Chitwan Tourism