PahiloPost

May 2, 2024 | २० बैशाख २०८१

नेविसंघका 'भाइ'हरुलाई 'देउवा दाइ'को दनक



सविन ढकाल

नेविसंघका 'भाइ'हरुलाई 'देउवा दाइ'को दनक

काठमाडौं : तोकिएको समयमै त्रिचन्द्र क्याम्पस पुगेका थिए नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा। पार्टीका प्रमुख तोकेको समयमा पुगेको  आधा घन्टा कट्दा पनि कार्यक्रम सुरु भएन। सबैभन्दा ठूलो दलका प्रमुख र राजनीतिक डेडलकको यो अवस्थामा कार्यक्रम ढुकेर बस्दा तनावमा हुनु अनौठो थिएन।

कार्यक्रम : नेपाल विद्यार्थी संघको सदस्यता वितरण
स्थान : त्रिचन्द्र कलेज
समय : तोकिएको बिहान ९ बजे
मिति : २०७३ मंसिर २७ गते

लामो कुराइपछि कार्यक्रम सुरु भयो। पट्यारलाग्दो दुई घन्टा लामो भाषण। भाषण गर्ने नेता पनि विद्यार्थी पनि।  

उनको आँखा बारम्बार नाडीको घडीतिर केन्द्रित भइरह्यो। बाँकी समय भाषण गर्नेतिरै ध्यान जानु स्वाभाविक थियो।

परराष्ट्रमन्त्री समेत रहेका कांग्रेस नेता प्रकाशशरण महतले भाषण सकाएलगत्तै 'काम छ' भने र हिँडिहाले। दुई नेता प्रकाशमान सिंह र शशांक कोइराला भने केही धैर्य देखिए। मञ्चमै अडिरहे।

भाषण लम्बिने संकेत पाएर हुनुपर्छ देउवाले वक्तालाई कम बोल्न पटकपटक भनेका थिए। पार्टी सभापति ‘देउवा दाइ'का अगाडि राजनीतिक भाषणकला देखाउने मौका गुमाउन चाहेनन् विद्यार्थी नेताहरुले।

कार्यक्रम लम्बिँदा देउवालाई भएको छटपटी उनको मुहारमा झल्किन्थ्यो। भाषण सकेर हिँड्न उनमा पनि हतारो थियो। तर, विद्यार्थी नेता उनलाई छिट्टै उम्किन दिने पक्षमा देखिएनन्।

जितजंग बस्नेत, नैनसिंह महर, प्रतिमा गौतम, मनोज वैद्य र त्रिचन्द्र स्वतन्त्र विद्यार्थी युनियनका नेताहरुले पालैपालो माइक समाते। राजनीतिक अवस्था र समस्या समाधानको विषयमा लम्बेतान भाषणसहित निकासको बाटो देखाए। नेपाल विद्यार्थी संघको भूमिकामाथि पनि शास्त्र छाँटे। एमालेको आलोचना नभ्याउने त कुरै भएन।

नेताको लामो भाषण गरे त गरे, कार्यक्रम सञ्चालक नेविसंघका महामन्त्री सरोज थापा पनि के कम। बीचबीचमा सकेसम्म लम्ब्याएर उद्घोषण ठोकिरहे।

दुई घन्टाको अधैर्य पर्खाइपछि बल्ल उद्घोषक थापाले देउवाको नाम लिँदै सम्बोधनका लागि माइक सुम्पे। माइक पाएलगत्तै देउवाले आफ्नो धैर्यलाई एकाएक छरपस्ट पार्दिए।

देउवाको पहिलो तारोमा परे उनकै गुटको उम्मेदवार बनेर नेविसंघको महामन्त्री बनेका थापा।

‘यो सरोजलाई अबदेखि नेविसंघको कार्यक्रममा उद्घोषण गर्न नदिनु,’ सुरुमै भनिहाले।

यत्तिमै उनको रिस थामिएनछ। ‘यसले कसरी निर्वाचन जित्यो, यस्तै हो भने यसलाई अब भोट नदिनु,’ उनले थपे।

त्यसपछि उनी पूर्व वक्तातिर खनिए। पाँच मिनेटभित्र धेरै विषयमा बोल्न सकिने भन्दै उनले नेविसंघका नेताहरुलाई छोटो समयमा आफ्ना कुरा राख्ने तालिम दिनुपर्ने’ भन्दै कटाक्षसमेत भ्याए।

‘कार्यक्रममा जथाभावी लामो बोल्नु राम्रो होइन,’ देउवाले भने।

कार्यक्रमको प्रमुख अतिथि तथा पार्टी सभापतिबाट निरन्तर गाली खाएपछि आयोजक र पूर्व वक्ताको मुहार निचोरिएको कागतीजस्तै भयो। देउवाले आफ्नो कटाक्षले कति काम गर्‍यो अनुमान लगाइहाले। त्यसपछि भने गाली गर्न छाडे। थाले फकाउन।

‘हाम्रो त दाइ कल्चर भएको पार्टी हो। आफ्ना भाइहरुलाई हप्काउन र सम्झाउन त पाउँछु नि!’  देउवाले हल्का रमाइलो पारामा भनेपछि बल्ल आयोजकको अनुहारको रुप फेरियो। नेविसंघका नेताहरु फिस्स हाँसे।

त्यसपछि मात्रै उनी राजनीतिक सन्दर्भामा प्रवेश गरे। निर्धारित समयमै तीन तहको निर्वाचन सम्पन्न हुने र यसका लागि प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका अध्यक्ष केपी ओलीसँग समेत सहमति भइसकेको’ भन्दै पाँच मिनेटमा आफ्नो भाषण सकाए। अन्य वक्ता झै त्यसपछि उनी पनि बाटो लागे।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell