नेपालगन्ज : नेकपा एमालेका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले पहिचानका नाममा जनता अल्मल्याउने र उनीहरुलाई अन्धकारमा राखी राजनीति गर्नेहरुले मुलुक बिगारेको टिप्पणी गरेका छन्।
प्रेस चौतारी, बाँकेले आज आयोजना गरेको पत्रकार सम्मेलनमा उनले वर्गका नाममा पार्टी खोल्ने अनि जातीय राजनीति गरेर नेपाली–नेपालीबीच द्वेष फैलाउने नेताहरुकै कारण मुलुक राजनीतिको भुमरीमा फस्दै गएको बताए।
अब राजनीतिक सहमतिको बाटो के हुन सक्छ? भन्ने पत्रकारको प्रश्नमा उनको छोटो जवाफ थियो, ‘संविधान संशोधन प्रस्ताव फिर्ता लिए सहमति हुन्छ।‘
जनताले हिमाल, पहाड र तराई छुट्याउन नचाहेको भन्दै उनले प्रश्न गरे, ‘किन तराईलाई पहाडबाट अलग गर्ने प्रस्ताव ल्याइयो?’
जनताका प्रतिनिधिले बनाएको संविधानको विरोध गर्नेहरुले नै संविधान संशोधनको नाममा मुलुकलाई द्वन्द्वमा फसाउन चाहेको उनले आरोप लगाए। ‘सरकारले ल्याएको संविधान संशोधनको प्रस्तावले जनतालाई खुसी बनाएको छैन, रुवाएको छ, पीडामा पारेको छ,’ ओलीले भने।
एक अर्को प्रश्नको जवाफमा अध्यक्ष ओलीले राजनीतिका नाममा मुलुकमा सधैँ द्वन्द्व उद्योग सञ्चालन गर्नेहरुसँग जनता सावधान हुनुपर्ने भनाइ राखे।रासस