
काठमाडौं : पुस १ गतेदेखि निजी अस्पतालमा शल्यक्रिया (अप्रेशन) बाहेकका १० प्रतिशत सेवा नि:शुल्क हुने भएको छ।
स्वास्थमन्त्री गगनकुमार थापाले आज पत्रकार सम्मेलन गरी निजी र सरकारी दुवै अस्पतालमा एकसाथ १० प्रतिशत शैय्या सहितको सेवा नि:शुल्क गर्न लागेको जानकारी दिए। 'आगामी पुस १ गतेबाट निजी र सरकारी अस्पतालमा एकसाथ १० प्रतिशत शैय्या र अप्रेशन थियटरसम्बन्धी बाहेक सबै सेवा नि:शुल्क सञ्चालन हुन्छन्,' मन्त्री थापाले भने, ‘शैय्यामा नि:शुल्क स्टिकर टाँसेर सेवा सञ्चालन गर्न निजी अस्पतालहरुको छातासंस्था 'अफिन'ले पनि प्रतिबद्धता जनाएको छ।' उनले निजी अस्पचाललहरुसँगको १०औं पटकको छलफलपछि मन्त्रालय यो सेवा सञ्चालनको निर्णयमा पुगेको जानकारी दिए।
नि:शुल्क सेवा अन्तर्गत अप्रेशन थियटर बाहेकका सबै सेवा पर्ने र अप्रेशन र औषधि भने नि:शुल्क नहुने थापाको भनाइ छ। सरकारले नि:शुल्क भनेर सूचीकृत गरेका औषधिहरु त नि:शुल्क भइहाले,' थापाले भने, 'त्यस बाहेकका औषधिहरु सरकार अस्पतालमा जस्तै निजीमा पनि नि:शुल्क हुनेछैनन्।'
उनले यो नि:शुल्क सेवासम्बन्धी व्यवस्था पुरानै भए पनि अहिलेसम्म कार्यान्वयनमा नआएकाले कार्यान्वयन थालेको बताए।