1.jpg)
काठमाडौं : वन तथा भू–संरक्षणमन्त्री शंकर भण्डारीले नेपालाई हिन्दुराज्य बनाइछोड्ने जिकिर गरेका छन्।
सोमबार रिपोर्टर्स क्लब पुगेका मन्त्री भण्डारीले हिन्दु राज्य हटाएर धर्म निरपेक्ष बनाउनुपर्छ भन्ने प्रस्ताव आफ्नो पार्टी नेपाली कांग्रेसले निर्णय नै नगरेको उनको दाबी गरे।
'आजसम्म हाम्रो पार्टीमा नेपाललाई धर्मनिरपेक्षता बनाउनुपर्छ भनेर कुनै पनि बैठकमा छलफल नै भएको छैन, ०६२/६३ को आन्दोलनमा पनि धर्मनिरपेक्षताबारे कुनै एजेण्डा नै थिएन,' मन्त्री भण्डारीले भने, 'यो अनायास र अप्रत्यासित ढंगले आएको हो, जबरजस्ती अन्तरिम संविधानमा त्यो शब्द घुसाइएको हो। यो विषयमा आवश्यक परे जनमतसंग्रह गर्नुपर्छ।’
उनले आफ्नो पार्टी हिन्दुराष्ट्रको पक्षमा रहेको पनि दाबी गरे। 'पार्टीभित्र हिन्दुराष्ट्रको बारेमा सशक्त रुपमा बहस बढिरहेको छ, खुमबहादुर खड्काजीले त्यसको नेतृत्व गरिरहनुभएको छ,' उनले भने, 'उहाँको त्यो अडान र बहसले गर्दा पार्टीलाई हिन्दुराष्ट्रको पक्षमा हिँड्न सहज भएको छ।’
कांग्रेसमा खुमबहादुर गुटमा रहेर त्यही गुटको तर्फबाट मन्त्री बनेका भण्डारीले कांग्रेस हिन्दुराष्ट्रको पक्षमा जानुको विकल्प नभएको बताए। ‘हिन्दुराष्ट्रमा जाँदा नै पार्टीको हित हुन्छ,' भण्डारीले भने, 'नेपाललाई हिन्दुराष्ट्र बनाएरै छाड्छौं।’
भारतीय राजदूत फिर्ता हुँदैनन्
प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको भातृ संगठनले नेपालका लागि भारतीय राजदुत रणजीत रायलाई फिर्ता पठाउनुपर्छ भन्ने कुरा कुटनीतिक मर्यादा विपरीत रहेको भण्डारीले टिप्पणी गरे। उनले एमालेले सस्तो लोकप्रियताको लागि गैरजिम्मेवारपूर्ण कुरा गरेको आरोप समेत लगाए। ‘५/७ हजार मान्छेले सामाजिक सञ्जालमा अनावश्यक हल्ला गर्दैमा सबै त्यसकै पछि लाग्नु हुँदैन, देशमा ३ करोड जनता छन्,’ उनले भने।
मन्त्री भण्डारीले संविधान संशोधन प्रस्ताव सदनमा प्रक्रियामा जान नदिएर निरन्तर संसद अवरुद्ध गरेर एमालेले गैरजिम्मेवारपूर्ण व्यवहार गरेको पनि बताए। ‘हिजो सरकारमा हुँदा ओलीजीले संशोधन हुन्छ भन्नुभएको थियो अनि वार्ता समिति पनि गठन गर्नुभएकै हो,' उनले भने 'अहिले आएर संशोधन प्रस्तावबारे छलफल गर्न नदिने? यो कुरा उहाँको आफ्नै प्रतिबद्धता भन्दा बाहिर छ, त्यसैले सदन चल्न दिनुपर्छ।’