
काठमाडौं : एसियाली युथ तथा जुनियर भारोत्तोलन च्याम्पियनसिपमा नयाँ राष्ट्रिय कीर्तिमान बनाउन सफल दुई नेपाली खेलाडीलाई युवा तथा खेलकुद मन्त्रालयले सोमबार नगदसहित सम्मान गरेको छ।
नोभेम्बर ८ देखि १६ तारिखसम्म जापानको टोकियोमा भएको उक्त च्याम्पियनसिपमा पुरुषतर्फ प्रकाश केसी र महिलामा कमला श्रेष्ठले जुनियरतर्फ राष्ट्रिय कीर्तिमान बनाएका थिए।
दुवै खेलाडीलाई नगद २५/२५ हजार दिने निर्णय गरिएको छ। खेलकुद मन्त्रालयका सचिव महेशकुमार दाहालले उनीहरुलाई सम्मान गरेका हुन्।
६२ केजीमा प्रतिस्पर्धा गरेका केसीले स्न्याचमा १०० केजी र क्लिन एन्ड जर्कमा १२४ केजी भार उठाउँदै आफ्नै कीर्तिमान सुधार गरेका थिए। यसअघि गत वर्ष राजधानीमा भएको चौथो ग्रान्ड प्रिक्स भारोत्तोलन च्याम्पियनसिपमा प्रकाशले स्न्याचमा ९३ केजी र क्लिन एन्ड जर्कमा १२० केजी भार उठाएका थिए।
कमलाले ५८ केजी सहभागी हुँदै स्न्याचमा ६१ केजी र क्लिन एन्ड जर्कमा ७८ केजी भार उठाउँदै लक्ष्मी चौधरीले २०७० सालमा प्रथम लुम्बिनी च्याम्पियनसिपमा बनाएको कीर्तिमान भंग गरेकी थिइन्। लक्ष्मीले स्न्याचमा २८ र क्लिन एन्ड जर्कमा ३६ केजी भार उचालेकी थिइन्।