काठमाडौं : सातौं राष्ट्रिय खेलकुदका लागि मध्यमाञ्चल, मध्यपश्चिमाञ्चल र पूर्वाञ्चलबाट स्क्वास खेलाडी छनोट भएका छन्। तीनै क्षेत्रबाट समान ४/४ पुरुष खेलाडी छनोट भएका हुन्।
मध्यमाञ्चलबाट ललितपुरका सुदीपबहादुर सिंह, काठमाडौंका प्रकाश प्रधान, ललितपुरका विनोदरत्न शाक्य र काभ्रेका अमिर ब्लोन छनोट भए।
मध्यपश्चिमाञ्चलबाट बर्दियाका ज्ञानु चौधरी, राजेशमणि घिमिरे र सञ्जय चौधरी तथा जाजरकोटका नवीनकुमार शाही छानिए।
यस्तै सुनसरीका निशान्त अग्रवाल, तेह्रथुमका वीरबहादुर नेपाल तथा मोरङका अस्मिनकुमार टोडी र जितेन्द्र बाइतले सातौंमा पूर्वाञ्चलको प्रतिनिधित्व गर्नेछन्।
तीनै क्षेत्रको छनोट सातदोबाटोमा भएको थियो। अब बाँकी रहेको पश्चिमाञ्चलको छनोट पोखरामा हुनेछ। महिलाको खुलातर्फ प्रतिस्पर्धा हुनेछ।
एथलेटिक्स छनोट सुरु
सातौंका लागि मध्यमाञ्चल क्षेत्रीय एथलेटिक्स छनोट प्रतियोगिता सोमबारदेखि त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सुरु भएको छ। पहिलो दिन समान ३/३ पुरुष र महिला खेलाडी शीर्ष स्थान हात पार्दै छनोट हुन सफल भएको एथलेटिक्स प्रमुख प्रशिक्षक अमिरी यादवले जनाएका छन्।
१ हजार ५ सय मिटर दौडको पुरुषमा भक्तपुरका सुरेश थापा मगर र महिलामा काठमाडौंकी संगीता खड्का, सटपुटको पुरुषमा चितवनका वीरेन्द्र चौधरी र महिलामा सिन्धुलीकी प्रमिला माझी तथा लङजम्पको पुरुषमा चितवनका भुवन महतो र महिलामा काठमाडौंकी सरु खवास छनोट भए।
सातौंमा मध्यमाञ्चलबाट १५ पुरुष र १२ महिला गरी २७ खेलाडीले भाग लिने छन्। प्रतियोगिता बुधबारसम्म चल्नेछ।