
मस्को (रसिया) : रसियाली प्रशासनिक केन्द्र क्रेमलिनले वासिङ्टन पोस्टमा छापिएको अमेरिकी राष्ट्रपतिको निर्वाचनमा रसियाको हस्तक्षेप रहेको भन्ने अमेरिकी गुप्चतर संस्था सिआइएको रिपोर्ट निराधार आरोप मात्रै भएको जनाएको छ।
निर्वाचनका विषयमा रसियालाई जोडेर गरेको एउटै पनि आरोप विल्कुलै आधारहीन भएको र यसलाई प्रमाणित गरेर देखाउन क्रेमलिन प्रवक्ता डिमित्री पेस्कोभले सञ्चारकर्मीसँग आग्रह गरेका छन्।
‘यी सबै आरोप विल्कुल निराधार, अनुचित र अव्यवसायिक रहेकाले यसको वास्तविक अर्थमा कुनै तुक छैन,’ पेस्कोभले भने।
गतहप्ता वासिङटन पोस्टमा प्रकाशित एक समाचारमा सन् २०१६ मा रसियाले साइबर आक्रमणद्वारा अमेरिकी निर्वाचन प्रभावित तुल्याउने र रिपब्लिकन नेता डोनाल्ड ट्रम्पको पक्षमा माहोल खडा गरेको भन्ने भावसहित सिआइएको रिपोर्टलाई सार्वजनिक गरिएको थियो।
अमेरिकी राष्ट्रपति बाराक ओबामाको निर्देशन र अमेरिकी कंग्रेसको मागअनुसार सिआइएको प्रतिवेदन बाहिर ल्याइएको र यसमा सन् २०१६ को निर्वाचन समयमा भएका साइबर अपराधसम्बन्धी घटना र अमेरिकी निर्वाचनमा रसियाली हस्तक्षेपका बारेमा जनाइएको छ।
नवनिर्वाचित राष्ट्रपति ट्रम्प र उनको दलले यसको खण्डन गरिसकेको छ।
गत जुलाईमा हिलारी क्लिन्टनको निर्वाचन अभियानले डेमोक्रेटिक नेसनल कमिटीबाट लज्जास्पद इमेल चुहावटबारे कुरा उठाएपछि क्रेमलिन अमेरिकी राजनीतिमा प्रवेश गरेको थियो।
रसियाली राष्ट्रपतिले अमेरिकी निर्वाचनमा रसियाको हात रहेको भनी आएका समाचारलाई अमेरिकी मतदाताको ध्यानलाई स्थानीय मुद्दालाई विषयान्तर गर्ने प्रयास भनी आरोपको गत अक्टोबरमा नै खण्डन गरेका थिए। रासस/एएफपी