PahiloPost

Mar 19, 2025 | ५ चैत्र २०८१

​रोनाल्डोलाई चौथो पटक 'बालोन डे अर' अवार्ड



पहिलोपोस्ट

​रोनाल्डोलाई चौथो पटक 'बालोन डे अर' अवार्ड

पोर्चुगलका खेलाडी क्रिस्टियानो रोनाल्डोले चौथो पटक बालोन डे अरको उपाधि जितेका छन्। 

सन् २०१६ मा पोर्चुगललाई पहिलो पटक युरोकपको उपाधि दिलाउन भूमिका खेल्नुका साथै रियल मड्रिडले कीर्तिमानी ११ औं पटक च्याम्पियन्स लिगको उपाधि जित्दा त्यसका सदस्य रहेको रोनाल्डोले लियोनल मेसीलाई पछि पार्दै यस वर्षको अवार्ड जितेका हुन्। रोनाल्डो र मेसीबाहेक फ्रेन्च खेलाडी अन्टोनी ग्रिजमन पनि अन्तिम तीनमा परेका थिए। 

फ्रान्स फुटबल म्यागाजिनले प्रदान गर्ने अवार्डमा यस पटक ३० खेलाडीको प्रारम्भिक सूची सार्वजनिक गरिएको थियो। विश्वभरका १७३ पत्रकारहरुले बालोन डे अर अवार्डका लागि भोट गरेका थिए। ३० मध्ये १९ खेलाडीले भोट प्राप्त गर्दा ११ खेलाडीले कुनै भोट पाएनन्। 

रोनाल्डो अझै मेसीभन्दा एक अवार्डले पछि छन्। मेसीले गत वर्ष पाँचौं बालोन डेअर अवार्ड जितेका थिए। रोनाल्डोले यसअघि सन् २००८, २०१४ र २०१५ मा बालोन डे अर अवार्ड जितेका थिए। 

सन् २००७ मा ब्राजिलियन खेलाडी काकाले जितेयता यो अवार्ड मेसी र रोनाल्डो बाहेक अरुले जित्न सकेका छैनन्। 

सन् २०१० देखि २०१५ सम्म फ्रान्स फुटबलले फिफासँग मिलेर संयुक्त रुपमा फिफा बालोन डे अर अवार्ड प्रदान गरेको थियो। तर यसै वर्षदेखि फिफा र फ्रान्स फुटबलले छुट्टाछुट्टै अवार्ड दिन थालेका हुन्। 

सन् १९५६ मा पहिलो पटक प्रदान गरिएको बालोन डे अरको यो ६१ औं संस्करण हो।

हाल क्लब वर्ल्डकप खेल्न जापानमा रहेको रोनालडो अवार्ड समारोहमा उपस्थित थिएनन्। उनलाई फ्रान्स फुटबल म्गाजिनले पहिल्यै भेटेर अवार्डसँगै फोटो खिचाएका थिए।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell