
काठमाडौं : अर्थ मन्त्रालयले लोडसेडिङ मुक्त अभियानलाई सघाउन ऊर्जा मन्त्रालयमार्फत नेपाल विद्युत प्राधिकरणलाई सवा ५ अर्ब रुपैयाँभन्दा बढी ऋण दिने भएको छ।
अर्थले लोडसेडिङ हटाउने विभिन्न उपकरण खरिदका लागि ५ अर्ब ३७ करोड रुपैयाँ ऋण दिने प्रतिबद्धता जनाएको हो। अर्थको बजेट महाशाखा प्रमुख मधु मरासिनीले प्राधिकरणले उपकरण खरिद गर्ने प्रक्रिया सुरु गरेपछि रकम निकासा गर्ने जानकारी दिए।
प्राधिकरणले विद्युत पोल, ट्रान्सफरर्मर, नयाँ मिटर र तार किन्न अर्थलाई रकम मागेको थियो। मुलुकलाई लोडसेडिङमुक्त पार्ने अभियानमा अहिले ऊर्जा मन्त्रालय र प्राधिकरण नेतृत्वले प्रभावकारी कदम चालेको हुँदा रकम दिन लागेको हो।
ऊर्जामन्त्री जनार्दन शर्मा र नेपाल विद्युत प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङको प्रयासमा अहिले काठमाडौँ लगायत देशका अधिकांश भूभाग लोडसेडिङमुक्त छन्। केही ठाउँमा बढीमा २/३ घण्टा लोडसेडिङ हुने गरेको छ। विगत वर्षमा यो समय कम्तीमा पनि ८ घण्टा लोडसेडिङ हुने गरेको थियो। वितगको तुलनामा विद्युत आपूर्ति खासै नबढे पनि प्राधिकरण नेतृत्वले कुशल व्यवस्थापन मार्फत लोडसेडिङ हुन दिएको छैन।
विद्युत आपूर्तिलाई दिगो बनाउन पुराना ट्रान्सफर्मर बदल्ने एवं नयाँ विस्तार गर्ने प्राधिकरणको तयारी छ। त्यसबाहेक चुहावट रोक्न ठूलो मात्रामा मिटर वितरण गर्न लागिएको छ।
सम्बन्धित समाचार