
काठमाडौं : काठमाडौं अन्तर्राष्ट्रिय माउन्टेन फिल्म फेस्टिभल (किम्फ) २०१६ मा कमलरी प्रथामाथि तयार पारिएको डकुमेन्ट्री ‘उर्मिला : माई मेमोरी इज माई पावर’ विजेता घोषित भएको छ। सुसन ग्लुथले निर्देशित डकुमेन्ट्रीले १५ सय अमेरिकी डलर जित्यो।
सोमबार सकिएको १४ औं संस्करणको किम्फ समापन कार्यक्रममा निर्देशक सुसनले आफूले जितेको रकमको केही प्रतिशत सामाजिक कार्यमा खर्चिने बताएकी छिन्।
अन्तर्राष्ट्रिय प्रतिस्पर्धा अन्तर्गत दोस्रो हुनेमा केसाङ छेतेनद्वारा निर्देशित फिल्म ‘ट्रेरम्बलिङ माउन्टेन’ परेको छ। फिल्मले एक हजार अमेरिकी डलर प्राप्त गरेको छ। भूकम्पका कारण सिर्जित अवस्था र त्यसबीच पनि सिर्जना हुने सकारात्मक पक्षलाई फिल्ममा चित्रण गरिएको छ।
त्यस्तै ‘थ्रु द अननोन’ ले तेस्रो स्थान हात पार्यो। निर्देशक फेडेरिको सान्टिनीले फिल्मका लागि ५ सय अमेरिकी डलर पाए। सो फिल्म पाकिस्तानको नागा पर्वतमा छायांकन गरिएको हो।
भूकम्पको केन्द्रबिन्दु नेपालको गोरखास्थित बारपाकको अवस्थाबारे बनेको फिल्म ‘अ सङ फर बारपाक’ले इसिमोड वेस्ट माउन्टेन फिल्म अवार्ड जितेको छ। भूकम्पअघि र पछिको अवस्था देखाइएको फिल्मलाई प्रदीप पोखरेलले निर्देशन गरेका हुन्। उनले पुरस्कारस्वरुप एक हजार अमेरिकी डलर जिते।
नेपाली अल्ट्रा धाविका मिरा राईको खेल जीवनमाथि बनेको फिल्मले 'पिपुल्स च्वाइस अवार्ड' जित्यो। सो डकुमेन्ट्रीलाई लोयड बेलचरले बनाएका हुन्।
किम्फ २०१६ को नेपाली पानोरोमा अन्तर्गत पत्रकार देवकी विष्टको ‘इन सर्च अफ देउकी’ले उत्कृष्ट डकुमेन्ट्रीको उपाधि जितेको छ। उनले ५० हजार राशीको पुरस्कार पाइन्।
पूजा गुरुङ र विभूषण बस्नेतको संयुक्त निर्देशन रहेको ‘दद्या’ले उत्कृष्ट फिक्सन फिल्म अवार्ड पायो। फिल्मले ७५ हजार रुपैयाँ जितेको हो। उपेन्द्रराज पाण्डे र बद्री न्यौपाने निर्देशित ‘बियोन्ड द ह्वाइट केन’ले भने जुरी स्पेसल मेन्सन विधामा जित पक्का गर्यो।
सर्ट फिल्म प्रतियोगिता अन्तर्गत विष्णु कल्पितको निर्देशन रहेको 'सवारी'ले प्रथम स्थान ओगट्यो। उनलाई ८० हजार नगद सहित विजेता घोषित गरिएको हो।
आसेन पौडेल निर्देशित ‘अ डे इन द लाइफ अफ कान्छी’ले दोस्रो स्थान लियो। ६० हजार रुपैयाँ पुरस्कारस्वरुप निर्देशकलाई दिइयो। त्यस्तै आमेश भण्डारी निर्देशित 'घट्टो'ले ४० हजार सहित तेस्रो स्थान हात पारेको छ।