PahiloPost

May 7, 2024 | २५ बैशाख २०८१

कहाँ छन् दीपक मनाङ्गे!



केपी ढुंगाना

कहाँ छन् दीपक मनाङ्गे!

काठमाडौं : गुन्डा नाइकेको रुपमा परिचित दीपक मनाङ्गे अहिले कहाँ छन्?

अपडेटका लागि सञ्चारमाध्यममा भर पर्नेबाट आउने उत्तर हो- डिल्लीबजार जेलमा।

तर उनी अहिले जेलमा छैनन्। उनी जेलमुक्त भएको एक महिना कटिसक्यो।

***
काठमाडौंका एक व्यापारीलाई धम्क्याएर पैसा असुलेको भन्दै महानगरीय प्रहरी परिसर काठमाडौंले उनलाई पक्राउ गरी संगठित अपराधको अभियोगमा हिरासतमा राखेको थियो। करिब दुई महिना प्रहरी हिरासतमा राखेर परिसरले सुशील मनाङ्गे, ज्याक गुरुङ र सनी गुरुङसँग मिलेर मनाङ्गेले संगठित रुपमा पैसा असुलेको भन्दै जबरजस्ती रकम असुलीसँगै संगठित अपराध ऐनमा समेत टेकेर जिल्ला न्यायाधिवक्ताको कार्यालय काठमाडौंमा प्रस्तावित राय पठाएको थियो। प्रहरीको प्रस्तावित रायअनुसार मनाङ्गेविरुद्ध काठमाडौं जिल्ला अदालतमा अभियोगपत्र दर्ता भएपछि भदौ १४ मा उनलाई पुर्पक्षका लागि थुनामा राखेर बाँकी अदालती प्रक्रिया अगाडि बढाउने आदेश आयो।

सोही आदेशका आधारमा मनाङ्गे डिल्लीबजार कारागार चलान भएका थिए। त्यसपछि के भयो? कतै सार्वजनिक भएन। उनको दसैं जेलमै बिते पनि तिहार भने जेलबाहिरै आएर मनाउन पाए। तर यो पनि कसैले सुइँको पाएनन्।

काठमाडौं जिल्ला अदालतले उनको मुद्दाको सुनुवाइ प्रक्रियालाई फास्टट्रयाकमा राख्दै कात्तिक १२ गते ‘कारागारमा राखेर अदालती प्रक्रिया अगाडि बढाउन आवश्यक नदेखिएको' भन्दै साधारण तारेखमा मुक्त गर्ने आदेश दिएपछि उनी जेलमुक्त भए।

‘पहिला त पुर्पक्षमै पठाएको थियो तर पछि सुनुवाइ गर्दा साधारण तारेखमा मुक्त भए,’ काठमाडौं परिसरका एक अधिकारीले पहिलोपोस्टसँग भने।

मनाङ्गेको पक्राउ यात्रा

काठमाडौंमा हुने झगडामा मनाङ्गेको नाम जोडिई नै रहे पनि उनको पक्राउ यात्रा २०५९ भदौ १७ बाट सुरु हुन्छ। महानगरीय प्रहरी अपराध महाशाखामा रहेको रेकर्डअनुसार पहिलो पटक उनी लोचनप्रसाद विमलीको १ लाख २८ हजार रुपैंया लुुटेको आरोपमा पक्राउ परेका थिए। त्यो अभियोग अदालतसम्म पुगेपछि धरौटीमा मुक्त भए।

धरौटीमा मुक्त भएको १५ महिनापछि २०६० पुस ९ मा होटल हायातमा नगेन्द्र श्रेष्ठलाई खुकुरी हानेको केसमा उनी पुन पक्राउ परे। उनीमाथि सार्वजनिक अपराधको मुद्दा लागे पनि जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट १० हजार धरौटीमा छुटे।

छुटेको तीन महिनापछि चैत १४ गते पुन: कुटपिट गरेको आरोपमा पक्राउ परे र सार्वजनिक अपराधको मुद्दामा धरौटीमा छुटे।

२०६१ बैसाख ३१ मा महाराजगन्जमा अर्का गुन्डा नाइके चक्रे मिलनलाई तरबारले हानेर बायाँ हात छिनाएको घटनामा उनीमाथि ज्यान मार्ने उद्योगमा मुद्दा दर्ता भयो। २०६१ चैत १८ मा उनी पक्राउ परे।

यसमा भने उनी धरौटीमा मुक्त हुन सकेनन् र पुर्पक्षका लागि थुनामा गए। उनी २०६३ माघ ९ मा कारागारमुक्त भए।

कारागारमुक्त भएको एक महिनामै उनी अर्का गुन्डा नाइके काजी शेर्पालाई गोली हानेको घटनामा मुछिए र २०६४ असोज १७ मा अदालतमा हाजिर भए। अदालतले २५ हजार रुपैंया धरौटी माग्यो। उनी नबुझाई डिल्लीबजार कारागार गए।

अभिशेक विक्रम शाहलाई कुटेको केसमा जिल्ला प्रशासन कार्यालय काठमाडौंले उनलाई १ वर्ष कैद सजाय सुनायो। २०६५ साउन २४ मा उनी पक्राउ परे। 'म दीपक मनाङ्गे होइन राजीव गुरुङ हुँ' भन्दै कारागारमुक्त भएका उनी पुन ६ महिनापछि समातिए। 

पछिल्लो समय उनीविरुद्ध आपराधिक गतिविधि गरेर अकुत सम्पत्ति कमाएको अभियोगमा विशेष अदालतमा मुद्दा चलिरहेको छ। उनी धरौटीमा मुक्त भएकै बेला पुन: काठमाडौं परिसरले पक्राउ त गर्‍यो तर यसपालि भने उनी साधारण तारेखमै मुक्त भए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell