काठमाडौं : नेपाल इन्टरनेशनल ब्याडमिन्टनको पहिलो दिन मंगलबार ३ खेलाडीले मात्र जित हात पार्दा १३ खेलाडी पराजित भएका छन्।
मेन्स सिंगलतर्फ नेपाल नम्वर वन रत्नजित तामाङ, दिपेश धामी र बिष्णु कटवाल मात्र पहिलो चरणमा जित हात पार्दै दोस्रो चरणमा प्रवेश गरे। यसबाहेक मेन्स सिंगलतर्फ ९ खेलाडी पराजित भए भने वुमन्स सिंगतर्फ ४ खेलाडीले हार बेहोरे।
हार बेहोरेका सबै खेलाडी पहिलो प्रतियोगिताबाट बाहिरिएका छन्। यस्तै मिक्स डबल्सतर्फ दिपेश धामी र पुजा श्रेष्ठको जोडी पनि प्रतिस्पर्धात्मक खेलमा पराजित भए।
रत्नजितले पाकिस्तानी खेलाडी मोहम्मद इर्फान सइद भट्टीलाई २१-१६, २५-२३ को सेटमा हराए भने बिष्णु कटवालले बंगाली खेलाडी मोआजाम हुसेनलाई २१-१९ २१-१५ को सेटमा हराए।
दिपेश धामीले भने इन्डोनेसियाली खेलाडी इमना अत्माजाबाट वाकओभर पाए। जितसँगै तीनै खेलाडी अन्तिम १६ मा प्रवेश गरेका छन्।
महिलातर्फ पहिलो चरणमा बाई पाएकी नेपालकी मेघा चन्द अन्तिम १६ मा भारतीय खेलाडी रासिका राजेबाट वाकओभर पाएपछि क्वाटरफाइनलमा प्रवेश गरेकी छिन्।
यस्तै शिक्षा श्रेष्ठ, अमिता गिरी र नगसल तामाङ पहिलो चरणमा बाई पाउँदै अन्तिम १६ मा प्रवेश गरेका छन्।
मेन्स सिंगलमा नेपालका इर्फान अन्सारी, सुमन लिम्बु, दीपक बोहरा, बिजित थापा मगर, जोसेफ अधिकारी, भुगोल गुरुङ, सुदिप सेँढाई, सन्जिव पहिलो चरणमा पराजित भए। साजन कृष्ण ताम्राकारले भने भिएतनामी खेलाडी काओ फामसँग प्रतिस्पर्धा गर्दा रिटायर्ड हर्ट भएपछि प्रतियोगिता छाडेका थिए।
यस्तै वुमन्स सिंगलतर्फ सुनैना मुखिया, शोभा गौचन, अनु माया राई र जेसिका गुरुङ पहिलो चरणमा हार बेहोर्दै बाहिरिएका छन्।
प्रतियोगिताको आपूर्ति मन्त्री दीपक बोहरा, युवा तथा खेलकुद पूर्व मन्त्री पुरुषोत्तम पौडेल, राष्ट्रिय खेलकुद परिषद्का उपाध्यक्ष एवं नेपाल ओलम्पिक कमिटीका महासचिव लामा टेन्डी शेर्पा, राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव केशवकुमार विष्ट, नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठलगायतले पानसमा दीप प्रज्ज्वलन गरी उद्घाटन गरे।
नेपालका २१, भारतका २३, भियतनामका ७, बंगलादेशका ९, इरान, इन्डोनेसिया र मलेसियाका ३–३, माल्दिभ्सका ४ र पाकिस्तानका ६ खेलाडी प्रतियोगितामा सहभागी छन्। नेपाल ब्याडमिन्टन संघद्वारा आयोजित प्रतियोगिताको कूल पुरस्कार राशी ६ हजार अमेरिकी डलर रहेको छ। प्रतियोगिता शनिबारसम्म चल्नेछ।