PahiloPost

May 19, 2024 | ६ जेठ २०८१

नयाँबस्ती चौकी आक्रमण घटनामा नयाँ ट्विस्ट : स्थानीय प्रहरीको दावी गलत, मृत्युको कारण मदिरा हैन हत्या



केपी ढुंगाना

नयाँबस्ती चौकी आक्रमण घटनामा नयाँ ट्विस्ट : स्थानीय प्रहरीको दावी गलत, मृत्युको कारण मदिरा हैन हत्या

काठमाडौं : प्रहरीले अत्यधिक मादक पदार्थ सेवन गरेर मृत्यु भएको दावी गरेको जोरपाटी नयाँबस्तीको घटना हत्या देखिएको छ। शनिबार बेलुका ट्याक्सी चालक राजकुमार लामाको मृत्यु भएपछि स्थानीय प्रहरीले अत्याधिक मदिरा पिएर उनको मृत्यु भएको दावी गरेको थियो। तर पोस्टमार्टम रिपोर्टमा लामाले मदिरा पिएको देखिएन। 

घटनाबारे अनुसन्धानका लागि गठन भएको प्रहरीकै समितिले मदिरा पिएर उनको मृत्यु नभई कुटेर मारिएको निष्कर्ष निकाल्दै घटनामा संलग्न रहेको आरोपमा तीन जनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा प्रहरी बिट नजिकै मदिरा पसलकी सञ्चालिका, उनको भाइ र लामानिकट माया तामाङ रहेका छन्। उनीहरुलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

अनुसन्धान स्रोतका अनुसार लामा र पसल सञ्चालिकाका भाइबीच २ सय रुपैयाँ ट्याक्सी भाडाको विषयमा विवाद हुँदा उनले इँटाले हिर्काएको खुलेको छ। 

इँटा लागेर लामा अचेत भएपछि उनलाई उपचारका लागि बौद्धमा रहेको स्तुपा अस्पताल पुर्‍याए पनि चिकित्सकले पहिल्यै मृत्यु भइसकेको जनाएको थियो। 

प्रहरीले लापरवाही गरेको भन्दै स्थानीयले आइतबार प्रहरी बिटमा आक्रमण गरेर मोटरसाइकल जलाएपछि घटना सार्वजनिक भएको थियो। काठमाडौंमै प्रहरी चौकीमा आक्रमण भएपछि महानगरीय प्रहरी कार्यालयले अनुसन्धानका लागि महानगरीय प्रहरी अपराध महाशाखाले एसएसपी सर्वेन्द्र खनालको नेतृत्वमा अनुसन्धान समिति गठन गरेको थियो। 

सोही समितिले लामाको हत्या भएको निश्कर्ष निकालेको हो। महाशाखाको अनुसन्धानमा बिटका प्रहरीले घटना लुकाउन झुट बोलेकोसमेत खुलेको छ। महानगरीय प्रहरी कार्यालयले घटनालाई शंकास्पद भन्दै सोमबार बिटमा रहेका ११ जना प्रहरीको सरुवा गरिसकेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell