
गौशाला : जिल्लाको दुई स्थानबाट कालोबजारी गरेको आरोपमा दुई वटा सहकारी संस्थाका अध्यक्ष पक्राउ परेका छन्।
पक्राउ पर्नेमा जिल्लाको सोनौल–४ बस्ने सीता कृषि सहकारी संस्थाका अध्यक्ष सीताप्रसाद भगत र रामगोपालपुर–९ बस्ने शिवाजी सहकारी संस्थाका अध्यक्ष गणेश राउत कुर्मी रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी उपरीक्षक नलप्रसाद उपाध्यायले बताए।
पक्राउ परेका अध्यक्षद्वयमाथि किसानलाई सहुलियत दरमा बिक्री गर्ने उद्देश्यले सरकारी अनुदानमा गहुँको बीउ ल्याएर मनपरी ढङ्गले बढी मूल्यमा बिक्री गरेको आरोप थियो। पक्राउ परेका अध्यक्ष भगतले गहुँको बीउ प्रतिबोरा ४० किलोको एक हजार सात सय २० मा बेच्नुपर्नेमा दुई हजार पाँच सयमा बेचेको र अध्यक्ष कुर्मीले प्रतिकिलो रु ४३ मा बेच्नुपर्नेमा प्रतिकिलो रु ६५ मा बेचेको गुनासो आएपछि जिल्ला कृषि विकास कार्यालयका प्रमुख सुकेश्वर झा, जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत रमेश अधिकारी सहितको अनुगमन टोलीले दुवै अध्यक्षलाई रङ्गेहात पक्राउ गरेका थिए।
अनुदानको बीउमा किसानलाई ठगी गरेका दुवै सहकारी संस्थाका अध्यक्षलाई पक्राउ गरी दुवैमाथि कालोबजारी मुद्दा चलाइएको प्रहरीले जनाएको छ।