लमजुङ : लमजुङलाई ‘हाइड्रो मोडेल नमुना जिल्ला’ घोषणा गर्ने तयारी गरिएको छ। जलविद्युत् निर्माणमा लगानीमैत्री वातावरण बनेको भन्दै हाइड्रो मोडेल जिल्ला घोषणा गर्न विशेष पहल थालिएको हो। पाँचौ लमजुङ महोत्सवका अवसरमा गरिन लागिएको जलविद्युत्सम्बन्धी कार्यशाला गोष्ठीबाट जिल्लालाई हाईड्रो मोडेल जिल्ला घोषणा गर्न लागिएको हो।
बैठकमा सहभागी सांसद्, नेता, प्रशासक तथा अन्य सरोकारवालाले जिल्लालाई हाइड्रो मोडल जिल्ला घोषणाका लागि सरकारसँग विशेष पहल गर्ने सुझाव दिएका थिए। आगामी शनिबार हुने गोष्ठीमा जिल्लामा भएको जलविद्युत्को सम्भावना, हाल निर्माण भइरहेका आयोजना, जलविद्युत् निर्माणमा देखिएका समस्याबारे ऊर्जा मन्त्रालय, विद्युत् प्राधिकरणका विशेष व्यक्तित्वलाई जानकारी गराइने भएको छ।
तयारी बैठकमा स्थानीय विकास अधिकारी शेखर पौड्यालले कार्यपत्र प्रस्तुत गर्दै जिल्लामा जलविद्युतको क्षेत्रमा भइरहेका प्रगति, देखिएका समस्या, समाधान गर्नुपर्ने विषयबारे जानकारी गराएका थिए।
लमजुङ महोत्सवको कार्यशाला गोष्ठी उपसमितिले जलविद्युत्मा लगानीमैत्री वातावरण र नमुना हाइड्रो मोडल जिल्ला बनाउने हेतुले कार्यशाला गोष्ठी आयोजना गरेको हो।