PahiloPost

Jan 18, 2025 | ५ माघ २०८१

पत्नीसहित राजेश हमालले हात्ती चढेपछि पश्चिम चितवनमा ‘हात्ती सफारी’ सुरु



रासस

पत्नीसहित राजेश हमालले हात्ती चढेपछि पश्चिम चितवनमा ‘हात्ती सफारी’ सुरु

रत्ननगर (चितवन) : पश्चिम चितवनको चार वटा सामुदायिक वनमा पर्यटकका लागि हात्ती सफारी सुरु भएको छ। पर्यटकीय क्षेत्रको विकास गर्न देवनगर पोस्टबाट हात्ती सफारी सुरु गरिएको चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत रामचन्द्र कँडेलले जानकारी दिए।
 
मङ्गलबार अभिनेता राजेश हमाल र पत्नी मधु भट्टराईले हात्ती चढेर सफारीको सुरुवात भएको घोषणा गरिएको थियो। आफू निकै लामो समयदेखि चितवनको पर्यटकीय क्षेत्र घुमे पनि पश्चिम क्षेत्रमा पहिलोपटक हात्ती सफारी गरेको हमालले बताए।
 
हात्ती सफारीका लागि सौराहा जानुपर्ने बाध्यताको अन्त्य गर्दै नवज्योति, बाटुली, दक्षिणकाली र वनदेवी मध्यवर्ती सामुदायिक वनमा सफारी सुरु भएको बरन्डाभार उपभोक्ता समितिका अध्यक्ष देवराज सापकोटाले जानकारी दिए।
 
यस क्षेत्रभित्र विश्व रामसार सूचीमा सूचीकृत विसहजारी ताल अवस्थित छ भने पर्यापर्यटनको प्रचुर सम्भावना बोकेका मनोरमस्थल रातामाटे ताल, न्युरे ताल, कालीमाटी ताल, बेदघारी ताल, मयुर ताल, बाइस हजार ताल, किङफिसर ताल, अठ्ठाइस हजार ताल, दक्षीणकाली ताल, वाटुलीपोखरी ताल आदि छन्। वेलशर डाँडाबाट राप्ती खोला र पार्कको दृश्यावलोकन पनि गर्न सकिन्छ।
 
यस स्थानमा सिमसार क्षेत्र बढी भएकाले पर्यटकले हात्तीमा चढेर निकुञ्ज क्षेत्रभित्र पाइने बाघ, गैँडा, भालु, गौरीगाई, चित्तल मृग, जरायोजस्ता दुर्लभ वन्यजन्तु, चराचुरुङ्गी र गोही हेर्न सक्नेछन्।
 
हात्ती सञ्चालनको अनुमति पाएका चारवटा सामुदायिक वन दुर्लभ एकसिङ्गे गैँडाको राम्रो बासस्थान मानिन्छन्। यहाँ हाल दैनिक दुईवटा हात्तीले बिहान–बेलुका दुई समयमा हात्ती सफारी हुन्छ। तर आठ वटा हात्ती सफारीको अनुमति लिइएको छ।
 
यसअघि सौराहा क्षेत्रमा रहेको बाघमारा, चित्रसेन र कुमरोज मध्यवर्ती सामुदायिक वनमा हात्ती सफारी हुँदै आएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell