काठमाडौँ : दर्ताबिना तथा नवीकरणबिना सञ्चालित स्वास्थ्य संस्थालाई कानुनी दायरामा ल्याउन निर्देशिका संशोधन गर्न लागिएको छ।
स्वास्थ्य संस्था स्थापना, सञ्चालन, गुणस्तरमापन तथा स्तरोन्नति मापदण्डसम्बन्धी निर्देशिका २०७० संशोधन गरी पुस महिनाभित्र छुट्टै एकाइ बनाएर ती स्वास्थ्य संस्थालाई कानुनी दायरामा ल्याइने मन्त्रालयलको योजना छ।
नेपालमा बहुसङ्ख्यक निजी अस्पताल, क्लिनिक, पोलिक्लिनिक लगायतका स्वास्थ्य संस्थाले मन्त्रालय र जिल्ला जनस्वास्थ्य कार्यालयमा सञ्चालन अनुमतिपत्र नलिएको र दर्ता भएकामध्ये धेरैले नवीकरण नगरेको पाइएकाले निर्देशिका संशोधन गर्न लागिएको स्वास्थ्यमन्त्री गगनकुमार थापाले बताए। सो प्रस्ताव मन्त्रिपरिषद्ले पास गरेर संसदको विधेयक समितिमा छलफलका लागि पठाइसकेको पनि उनले जानकारी दिएका छन्।
धेरै क्लिनिक तथा फार्मेसीले मापदण्ड पूरा नगरी सञ्चालन गरेको गुनासो आएपछि मन्त्रालयले अनुगमनका क्रममा समयमा उपत्यका र उपत्यका बाहिर ६० प्रतिशतभन्दा बढी त्यस्ता क्लिनिक तथा फार्मेसी दर्ता नभएका र समयमा नवीकरण नभएका पाइएको मन्त्रालयले जनाएको थियो।रासस