PahiloPost

May 6, 2024 | २४ बैशाख २०८१

ट्याक्सी चालक लामाको हत्या प्रकरण, कहाँ चुक्यो प्रहरी?



केपी ढुंगाना

ट्याक्सी चालक लामाको हत्या प्रकरण, कहाँ चुक्यो प्रहरी?

काठमाडौं : ट्याक्सी चालक राजकुमार लामाका आफन्तले मंसिर २६ मा नयाँबस्तीस्थित प्रहरी चौकी आक्रमण नगरेको भए उनको हत्या भएको तथ्य खुल्थ्यो? शंकै छ।
 
लामालाई उपचारका लागि शनिबार बेलुका बौद्धको स्तुपा सामुदायिक अस्पताल पुर्‍याउने प्रहरीले दिएको प्रारम्भिक जानकारी अनुसार ‘अत्यधिक रक्सी सेवन गरी अचेत हुँदा उनको ज्यान गएको’ हो।
 
माथिल्लो निकायले घटनाबारे जानकारी माग्दा ती प्रहरीले त्यसमा थोरै संशोधन गर्दै ‘अत्यधिक मादक पदार्थ सेवन गरी लडेर अचेत भएको’ भन्ने विवरण दिए।
 
लामाको मृत्युबारे घटनाको प्रत्यक्षदर्शी मानिएका चौकीका प्रहरीको बयानलाई बलियो मानियो। प्रहरीको बयानको साक्षी बने नजिकैको हेलम्बु रेष्टुरेन्ट सञ्चालक संगीता राई र कामदार माया तामाङ।
 
पौने ११ बजे अचेत अवस्थामा भेटिएका लामालाई 'प्रहरीले आफ्नो जिम्मेवारी पूरा गर्दै' नजिकै रहेको स्तुपा अस्पताल पुर्‍याए। अस्पताल पुग्दा चिकित्सकले उनलाई मृत घोषणा गरे।
 
पोस्टमार्टमले देखायो- लामाको टाउकोमा लागेको चोट नै मृत्युको कारण हो। खुला ठाउँमा लड्दा लामाको टाउकोमा चोट लाग्यो र मृत्यु भयो भन्ने प्रहरी प्रतिवेदन आउँदा शंका गरिहाल्नुपर्ने अवस्था पनि थिएन।
 
चौकीमाथि स्थानीयले आक्रमण नगरेको भए लामाको मृत्युको अनुसन्धान स्थानीय प्रहरीमै अड्किन सक्थ्यो। अनि ‘मृत्युको कारण भवितव्य ज्यान’ निष्कर्ष निस्कने अवस्था बलियो थियो।
 
एक युवतीसँग झगडा हुँदा समेत प्रहरीले वास्ता नगर्नु र अचेत भएका लामालाई उपचारका लागि अस्पताल लैजाँदा उनका आफन्तलाई खबर नगर्नुले आफन्त र स्थानीयवासीमा शंकाको बीउ रोप्यो। आफ्नो गुनासो राख्न प्रहरी चौकीमा जाँदा प्रहरीले गरेको रेस्पोन्सले उनीहरुलाई आक्रोशित बनायो। र, चौकीमाथि आक्रमण भयो।
 
काठमाडौंमै प्रहरी चौकीमाथि भएको आक्रमणको घटना एकाएक राष्ट्रिय चासोको विषय बन्यो। महानगरीय प्रहरी कार्यालयले घटनाबारे तत्काल प्रतिक्रिया जनाउँदै छानबिन समिति गठन गर्‍यो। र, महानगरीय प्रहरी अपराध महाशाखाको नेतृत्वमा भएको अनुसन्धानले निचोड निकाल्यो- ‘लामाको मृत्यु होइन, हत्या भएको हो।
 
मध्यदिन मध्य सडकमा मदिराले लडखडाएकाहरु सहरका मुख्य चोकहरुमै देखिन्छन्। यिनीहरुलाई देखेको नदेखी हिँड्ने प्रहरीले काँठको बस्तीमा रहेको यस्तै हालको व्यक्ति देख्यो। राति पौने ११ बजे उद्धार गर्‍यो, र अस्पताल पुर्‍यायो।
 
किन त?
 
घटनालाई शंकाको घेरामा पार्न स्थानीय प्रहरी चौकीका दाबीले सघायो।
 
आइतबार बिहान प्रहरी चौकीमाथि भएको आक्रमणले शंकाको घेरा बढाउँदै लग्यो। बिना कुनै आधार स्थानीयले राजधानीकै चौकीमाथि धावा बोल्ने आँट कसरी गरे होलान्?
 
यही प्रश्नको खोजीका लागि अनुसन्धान समिति बन्यो र लामाको हत्या भएको निष्कर्षमा प्रहरी टोली पुग्यो।
 
प्रहरीले हत्यामा संलग्न रहेको अभियोगमा रेष्टुरेन्ट सञ्चालक संगीता, कामदार माया र उनको भाइ मागधन राईलाई पक्राउ गर्‍यो। हत्या अभियोगमा अनुसन्धानका लागि काठमाडौं जिल्ला अदालतबाट म्याद लियो र हिरासतमा राख्यो। यीबाहेक अन्य दुई अरुण माझी र दिया माझी पनि प्रहरीको शंकाको घेरामा परे। उनीहरु नियन्त्रणमा छन्।
 
चौकीमा कार्यरत सात प्रहरीको भूमिका शंकास्पद देखिएपछि आयुक्त कार्यालयले उनीहरुलाई चौकीको जिम्मेवारीबाट मुक्त गरेर छानबिनका लागी भृकुटीमण्डपमा रहेको महानगरीय घटना सहायता कार्यदलको कार्यालयमा तानिसकेको छ।
 
तर, अझै लामाको हत्यामा चौकीका प्रहरीको भूमिकाबारे अनुसन्धान समिति प्रस्ट खुलेन। लामा हत्या घटनाको प्रारम्भिक अनुसन्धान प्रतिवेदन सार्वजनिक गर्न बुधबार आयोजित पत्रकार सम्मेलनमा बोल्दै एसएसपी सर्वेन्द्र खनालले ‘लामा हत्यामा प्रहरीको संलग्नता नदेखिएको, रेष्टुरेन्ट सञ्चालिकासँग उनीहरुको सम्बन्धबारे अनुसन्धान भइरहेको’ मात्रै बताए। जनताको जिउधनको सुरक्षाका लागि खटिएको संगठनमाथिको लान्छना जोगाउन उनले प्रयत्न गरे पनि पहिलोपोस्टले पाएको तथ्य भने फरक छ- लामाको हत्या लुकाउन त्यहाँ कार्यरत प्रहरीहरु सक्रिय थिए।
 
अनुसन्धान स्रोतका अनुसार जुन बेला चौकीका प्रहरीले लामालाई फेला पारेका थिए, त्यो बेला उनको नाकबाट रगत बगिरहेको थियो। प्रारम्भमा रेष्टुरेन्ट सञ्चालक संगीताले आफैं ढलेको बताएकी थिइन्। तर, प्रहरीले लामालाई ट्याक्सीमा राखेर अस्पताल लैजाने क्रममा उनको टाउकोमा लागेको चोट समेत देखेका थिए।
 
लामा र रेष्टुरेन्टकी कामदार मायाबीच झगडा भएको देखेका स्थानीयले सो घटनाबारे प्रहरीलाई जानकारी दिए। तर प्रहरीले मृत्युको कारण नखोजी स्थानीयले चौकी आक्रमण गर्दा समेत पुरानै दाबी दोहोर्‍याइरहे। प्रहरीको दाबीले उनको मृत्यु कुनै 'हत्या' नभई 'भवितव्य' बनाउन सघाएको प्रस्टै देखियो।
 
अब के त?
 
एसएसपी खनाल घटनाबारे प्रहरीबाट भएको 'चुक'बारे समितिले अनुसन्धान गरिरहेको र केही दिनभित्र त्यसबारे प्रतिवेदन बुझाउने बताउँछन्। ‘प्रारम्भिक अनुसन्धानमा लामाको हत्या भएको देखिए पनि घटनामा संलग्न देखिएका र हुन सक्नेलाई पक्राउ गरी अनुसन्धान अगाडि बढाइसकेका छौं,’ उनले पत्रकार सम्मेलनमा भने, 'घटनामा स्थानीय प्रहरीको भूमिकाबारे छानबिन जारी छ। अनुसन्धान सकिएपछि देखिएको तथ्य खुलाएर प्रतिवेदन बुझाउनेछौं।’
 
महानगरीय प्रहरी कार्यालयका एआइजी प्रतापसिंह थापाले घटनाको प्रकृतिका आधारमा प्रहरी चुकेको स्वीकारे। ‘स्थानीय प्रहरीबाट केही चुक भएको देखिन्छ। छानबिन समितिले बुझाउने प्रतिवेदनमा आउने निष्कर्षअनुसार जसको जे भूमिका देखिन्छ, सोहीअनुसार कारबाही हुन्छ।’



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell