काठमाडौ : पुष्पकमल दाहाल प्रचण्ड मन्त्रीपरिषद्मा रहेका ३१ जना मन्त्रीहरुको सम्पत्ती विवरण सार्वजनिक भएसँगै कोसँग कती रकम छ, कती जिन्सी छ, को धनी को गरिब भन्ने विषयमा बहस सुरु भएको छ।
उक्त मन्त्रीपरिषद्मा सम्पत्ती सार्वजनिक गर्ने मध्ये युवा तथा खेलकुद मन्त्री दलजित विके श्रीपाली ऋणमा रहेको देखिएको छ।
नेकपा माओवादी केन्द्रबाट मन्त्री बनेका श्रीपालीले बुझाएको विवरणमा उनको ६ लाख ८० हजार ऋण रहेको उल्लेख छ। उनले विभिन्न व्यक्तिसँग लिएको १० लाख ८० हजार ऋणमध्ये त्यति रकम तिर्न बाँकी छ। हिक्मत विकसँग लिएको ४ लाख ऋण भने तबव भत्ताबाट तिरेको उल्लेख गरेका छन्।
यसबोहक उनले सम्पत्तीको नाममा २०४८ सालमा सुनकुमारी विकेसँग विवाह हुँदा माइतीबाट दिएको दुई तोला सुन छ। त्यस्तै साँढे ५ हजारको मोबाइल एक थान, ८ हजारको घडी एक थान र साँढे १२ हजार टिभी एक थान रहेको उल्लेख छ।
उनले बुझाएको विवरणमा श्रीपालीको कृषि विकास बैंक बानेश्वरमा १६ सय, एभरेष्ट बैंक बानेश्वरमा एक हजार ६० र एभरेष्ट बैंक सिंहदरबारमा ६५४ रुपैयाँ मौज्दात छ।
त्यसबाहेक उनको रुकुममा एक र दाङमा एक घर रहेको उल्लेख छ।