
काठमाडौँ : एकै सरकारमा शहरी विकास र स्वास्थ्य मन्त्रीको रुपमा सहभागी अर्जुननरसिह केसी र गगन थापा नातामा ज्वाईँ ससुरा हुन् । मन्त्रिपरिषद्को निर्णयपछि मंगलबार सार्वजनिक भएको यी दुवैको सम्पत्ति विवरणमा ससुरा जग्गाप्रेमी देखिए भने ज्वाईँ शेयर प्रेमी।
केसीसँग नगद मात्रै डेढ करोड
शहरी विकास मन्त्री अर्जुननरसिंह केसीसँग नगद मात्रै एक करोड ७४ लाख छ। सार्वजनिक सम्पत्ति विवरण अनुसार नुवाकोटमा उनको नाममा ५६ रोपनी जग्गा छ।काठमाडौ उपत्यकामा ६ रोपनी १२ आना जग्गा भए पनि सबै उनको श्रीमती प्रतिमा केसीको नाममा छ । प्रतिमाकै नाममा नुवाकोटको राउतवेधमा ३९ रोपनी जग्गा र घर रहेको उनको सम्पत्ति विवरणमा उल्लेख छ।
उनीसँग ५० तोला सुन र ५ सय २५ तोला चाँदी छ।
काठमाडौंको प्रतिमा केसीको नाममा काठमाडौको गोंगबुमा १५ आना, साङलामा ९ आना, १४ आना , १ रोपनी ११ आना र १ रोपनी ६ आनाको पाँच कित्ता जग्गा छ।
ललितपुरको सैबुमा ८ आना हरिसिद्धिमा १५ आना, ललितपुर उपमहानगपालिकामा ५ आना, ६ आना, ६ आना , ६ आना गरी ४ कित्ता जग्गा छ।
विभिन्न बैंकमा गरी केसीको नाममा एक करोड ४४ लाख बचत छ। केसीको नाममा लुम्बिनी बैकमा एक करोड ३३ हजार छ भने कृषि विकास बैकमा १५ लाख, स्ट्याण्डर्ड चार्टर्ड बैकमा १३ लाख, एभरेष्ट बैकमा १३ लाख रुपैयाँ देखिएको छ ।
केसीले ३० लाख रुपैयाँ आफन्तलाई ऋण लगानी गरेको विवरणमा उल्लेख छ।
प्रतिमा केसीको नाममा कृषि विकास बैकमा १५० कित्ता, नवबिहानी बहुउद्धेश्यीय सहकारीसंस्थामा १०० कित्ता र बीपीस्मृति सामुदायिक अस्पतालमा दुइ लाख रुपैया बराबरको सेयर रहेको छ।
केसीसँग ३१ लाख रुपैया बराबरको गाडी रहेको सम्पत्ति विवरणमा उल्लेख छ। आम्दानीमा उनले कृषि व्यवसायबाट बार्षिक करिव ४ लाख ५० हजार रुपैया आम्दानी हुने उल्लेख गरेका छन्।
गगन थापा किन्छन् सेयर : हातमा ५ हजार, बैंकमा ४ हजार
स्वास्थ्य मन्त्री गगनकुमार थापाले भने व्यवस्थित तरिकाले सम्पति विवरण बुझाएका छन्। कतिपय मन्त्रीहरुले हातले लेखेर सम्पति बुझाएको भएपनि थापाले भने कम्युटरबाट तयार गरेर व्यवस्थित तरिकाले सम्पति विवरण बुझाएका हुन्।
थापाको अधिकाशं सम्पति भने पिता महेन्द्रकुमार थापासँग छ। त्यस्तै श्रीमतिको नाममा पनि बैंकमा मौज्दातदेखि सुन र हिराका गहनासम्म छन्। आमाको नाममा विभिन्न कम्पनीका सेयर छन् भने छोरीको नाममा समेत पेवा जम्मा भैसकेको छ। जसमा अधिकाशं श्रोत पैत्रिक देखाइएको छ। आमा र वुवाको स्वआर्जन देखाइएको छ।
उनले स्वआर्जनबाट प्राप्त रकम भने बैंक तथा जलविद्युतको सेयर खरिद गरेका छन् जसको मूल्य उनले सम्पति विवरणमा उल्लेख गरेका छन्। मन्त्री थापाले आफूसँग ५ हजार नगद भएको सम्पतिमा देखाएका छन्। त्यस्तै एभरेष्ट बैंकको खातामा चार हजार नगद जम्मा छ जुन उनको सरकारी तलब जम्मा हुने खाता हो।
थापासँग ङ्यादी गुप्र प्रालीको १ हजार २ सय कित्ता सेयर छ। त्यस्तै सिटिजन्स बैंक लिमिटेडको ३२ हजार ४ सय कित्ता सेयर छ। उनले आफ्नो स्वआर्जनबाट सेयर किनेको उल्लेख गरेका छन्। उनीसँग बैंक अफ काठमाडौँको ५ हजार ९ सय कित्ता, एनआईसी एसियाको १३ हजार ९ सय कित्ता सेयर छ। त्यस्तै जनता बैंककाे १७ हजार २ सय कित्ता सेयर छ।
थापासँग अपि पावर लिमिटेडको २ हजार ६ सय, जलविद्युत विकास कम्पनीमा २ हजार ९ सय, खानीखोला हाइड्रो पावरमा १ हजार ६ सय कित्ता सेयर छ। बरुण हाइड्रो पावरमा पनि उनको नाममा १ हजार कित्ता सेयर छ।
थापा दम्पतीले स्वआर्जनबाट सुनखानी एकीकृत कृषि केन्द्र प्रालीमा ५ लाख बराबरको सेयर हालेका छन्। त्यसैगरि मिडवेस्ट एग्रिकल्चर रिसर्च एण्ड डेभलपमेन्ट प्रालीमा पनि ५ लाखको सेयर हालेका छन्। थापा एक्लैले पौरखी एकीकृत कृषि केन्द्र प्रालीमा १ लाखको सेयर हालेका छन्।
सम्पति विवरणमा कित्ता हाे कि रकम हाे प्रष्ट्याइएकाे छैन।