काठमाडौं : अन्तर क्लबस्तरिय रग्वी सेभेन्सको पुरुषतर्फको उपाधि नेपाल आर्मी 'ए' ले जितेको छ। दशरथ रंगशालामा बुधबार भएको पुरुषतर्फको फाइनल खेलमा आर्मीले गोर्खालीको पुरुष टिमलाई ५–० स्कोरले पराजित गर्दै पहिलो पटक भएको क्लबस्तरिय रग्वीको उपाधि जित्न सफल भएको हो।
(2).jpg)
निकै प्रतिस्पर्धात्मक भएको फाइनल खेलमा पहिलो हाफ बराबरीमा सकिएपनि अधिकांश राष्ट्रिय टिमका खेलाडी रहेको गोर्खाली क्लब दोस्रो हाफमा आर्मीसँग निरह बन्यो।
दोस्रो हाफको शुरुआतमै आर्मीले ट्राई गर्न सफल भयो। आर्मीका रमित कुमालले ट्राई गर्दै अग्रता दिलाए। त्यसपछि प्राप्त कनभर्जन किक प्रहार गर्न आर्मी असफल भएपछि ५ स्कोर मात्र प्राप्त गर्यो। बाँकी समयमा गोर्खालीले ट्राई गर्न नसकेपछि ५ स्कोरनै आर्मीको जितका लागि पर्याप्त भयो।
प्रतियोगितामा गोर्खालीका नविन गिरी बेस्ट प्लेयर घोषित भए। नविनले पाँच ट्राई गर्दै सर्बाधिक २५ स्कोर गरेका थिए। मंगलबार सुरु भएको प्रतियोगिताको पुरुषमा काभे्रको आकाश भैरव तेस्रो भयो। महिलातर्फ उपाधि भने गोर्खाली क्लबले जित्यो।
प्रतियोगिताको विजेताले ट्रफी तथा मेडल र दोस्रो हुने टिमले मेडल प्राप्त गरे। प्रतियोगिताबाट थाइल्याण्डको बैंककमा हुने एसिया रग्वी सेभेन्स ट्रफिका लागि पहिलो चरणमा पुरुष र महिलामा समान २० खेलाडी छनोट गरिने संघका सचिव गोविन्द घिमिरेले बताए। एसिया रग्वी सेभेन्स ट्रफि आगामी वर्षको फेब्रुअरी १९ देखि २१ सम्म हुनेछ।
नेपालले यसअघि प्री–ओलम्पिक क्लालिफायर र एसिया रग्वी डेभलभमेन्ट सेभन्स भारतको चेन्नाईमा खेलेको थियो।
