PahiloPost

Mar 20, 2025 | ६ चैत्र २०८१

चलाउन जाने फेसबुक बन्न सक्छ सहयोगी, पुस्तकालयका लागि जुट्यो तीन लाख



पहिलोपोस्ट

चलाउन जाने फेसबुक बन्न सक्छ सहयोगी, पुस्तकालयका लागि जुट्यो तीन लाख

बागलुङ : धवलागिरि अञ्चलकै जेठो विद्यामन्दिर पुस्तकालयको संस्थागत विकासका लागि फेसबुकका माध्यमबाट रु तीन लाखभन्दा बढी रकम सङ्कलन भएको छ। तीन महिनाअघि ‘एक व्यक्ति एक हजार’ अभियान चलाएको पुस्तकालयले हालसम्म तीन लाख १० हजार पाँच सय २१ रुपैयाँ उठेको जनाएको छ।
 
२००३ सालमा स्थापित पुस्तकालयले सामाजिक सञ्जाल फेसबुकमार्फत अभियानको प्रवर्द्धन गरिरहेको छ। रु १० लाखको संस्थागत विकास कोष खडा गर्न आर्थिक अभियान चलाइएको पुस्तकालयका अध्यक्ष राजेशचन्द्र राजभण्डारीले बताए।
  
अभियानका बारेमा पुस्तकालयले फेसबुकमा सूचना विवरण राखेपछि पुस्तकालयप्रेमीले स्वतःस्फूर्त रुपमा सहयोग गर्न थालेको अध्यक्ष राजभण्डारीले बताए। सहयोगदाताको तस्बिर र सहयोग रकम पनि फेसबुकबाटै सार्वजनिक हुने हुँदा अरूलाई समेत प्रेरित गरेको पुस्तकालयका सचिव राम थापा ‘अविरल’को भनाइ छ। ‘न्यूनतम एक हजार दिने सहयोगदातालाई प्रशंसापत्र पनि दिने गरेका छौँ,’ उनले भने। आउँदो छ महिनाभित्र अभियानबाट संस्थागत विकास कोषको रकम रु १० लाख पुर्‍याइने भएको छ।
 
प्रविधिको विकास र पाठकको मागलाई दृष्टिगत गरी पुस्तकालयले गत वैशाखदेखि विद्युतीय पुस्तकालय पनि सञ्चालनमा ल्याएको छ। हाल पुस्तकालयमा रु पाँच लाख जतिको अक्षयकोष रहेको छ। विद्युतीय पुस्तकालय सञ्चालनमा आएपछि विद्यार्थी र पाठकको सङ्ख्या वृद्धि भएको सचिव थापाले बताए। रासस



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell