PahiloPost

Dec 31, 2024 | १६ पुष २०८१

'विशेष कारणवश' भन्दै संसद बैठक स्थगित गर्नुको कारण यस्तो रहेछ



मनोज सत्याल

'विशेष कारणवश' भन्दै संसद बैठक स्थगित गर्नुको कारण यस्तो रहेछ

काठमाडौँ : मंसिर १४ गते राति सरकारले संसद सचिवालयमा संविधान संशोधन प्रस्ताव दर्ता गरेको भोलिपल्टदेखि संसद बैठक विपक्षी दलहरुले अवरुद्ध गर्दै आएका छन्। बैठक बस्ने, विपक्षी दलका एक सांसदले बोल्ने, त्यसपछि बैठक अवरुद्ध हुने प्रक्रिया नियमित जस्तै भएको छ। 

आज पनि बिहान ११ बजेका लागि बैठक डाकिएको थियो। तर आज भने बैठक बस्नै सकेको छैन। 'विशेष कारणवश' भन्दै बैठक स्थगित गरियो। 

के रहेछ त त्यो विशेष कारण?

सभामुख ओनसरी घर्तीका प्रेस सल्लाहकार बासुदेव शर्मा 'बबिन' का अनुसार संसद बैठक बस्नुअघि प्रमुख दलका सचेतकहरुसित सभामुखले गर्ने कार्यव्यवस्था परामर्श समितिको बैठकमा सत्तारुढ दल र प्रतिपक्षी दलहरुबीच कुरा नमिलेपछि बैठक बस्न नसकेको हो। 

परामर्श समितिको बैठकमा सत्तारुढ दलहरु माओवादी केन्द्र र नेपाली कांग्रेसले आजको बैठकको कार्यसूचीमा संविधान संशोधन प्रस्तावबारे छलफल गर्ने विषय राख्नुपर्ने अडान राखेका थिए। उनीहरुलाई मधेसकेन्द्रित दलहरुले पनि साथ दिएका थिए। 

तर एमाले लगायत विपक्षी दलहरुले भने संविधान संशोधन प्रस्ताव फिर्ता लिनुपर्ने माग राख्दै आएकाले छलफल राख्न नहुने बताए। 

दलहरुबीच द्न्द्व बढाउनुको साटो केही समय स्थगित गरेर सहमतिको बाटो खोज्न बैठक केही समय स्थगित गरिएको हो, उनले भने। 

एमाले लगायत प्रतिपक्षी दलहरुले प्रस्ताव परिपक्व हुन लाग्ने पाँच दिन पनि नहुँदै कार्यसूचीमा संविधान संशोधनको प्रस्ताव नभए पनि बैठक अवरुद्ध गर्दै आएका छन्। सभामुखले संविधान संशोधनको प्रस्तावलाई कार्यसूचीमा अहिलेसम्म राखेकी छैनन्। संविधान संशोधन प्रस्ताव दर्ता भएको सूचनासम्म पनि संसदले अहिलेसम्म औपचारिक रुपमा पाएको छैन। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell