PahiloPost

Mar 20, 2025 | ६ चैत्र २०८१

उद्योग मन्त्रीसँग भक्स वागन, वाणिज्यसँग प्राडो, प्रमसँग छैन कुनै सवारी



पहिलोपोस्ट

उद्योग मन्त्रीसँग भक्स वागन, वाणिज्यसँग प्राडो, प्रमसँग छैन कुनै सवारी

काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र उनको परिवारका कुनै सदस्यसँग न ४ पांग्रे सवारी साधन छ, न २ पांग्रे। अर्थमन्त्री कृष्णबहादुर महराको हालत पनि उस्तै छ। उनीसँग पनि कुनै सवारीसाधन छैन।
 
मन्त्रिपरिषद् कार्यालयले सार्वजनिक गरेको सम्पत्ति विवरणले यही देखाउँछ। ऊर्जामन्त्री जर्नादन शर्मा, खेलकुद मन्त्री दलजित श्रीपाली, श्रममन्त्री सुर्यमान गुरुङ त सवारी साधनविहीन भए नै अमेरिकामा समेत सम्पत्ति जोड्न सफल भुमिसुधार मन्त्री विक्रम पाण्डेसँग समेत एउटै सवारीसाधन रहेनछ।
 
वनमन्त्री शंकर भण्डारी, सहकारी मन्त्री ह्दयराम थानी, कानुनमन्त्री अजयशंकर नायक, शिक्षामन्त्री धनिराम पौडेल, सञ्चारमन्त्री सुरेन्द्रकुमार कार्की र संघीय मामिला मन्त्री हितराज पाण्डे पनि सवारीविहिन नेता हुन्।
 

गाडीवाला मन्त्री : कसैसँग भक्सवागन, कसैको प्राडो

मन्त्रिपरिषद्को कार्यालयले सार्वजनिक गरेको विवरणअनुसार गृहमन्त्री विमलेन्द्र निधिसँग ७ लाख पर्ने निशान छ। सहरी विकास मन्त्री अर्जुननरसिंह केसीसँग बा २ च ९१४७ नम्बरको एउटा गाडी छ। गाडीको विवरण र स्रोत भने उनले खुलाएका छैनन्। परराष्ट्रमन्त्री प्रकाशशरण महतको श्रीमतीको नाममा सेन्ट्रो कार छ। त्यो ९ लाख ५० हजारमा ११ वर्षअगाडि किनेको उनले सम्पत्ति विवरणमा लेखेका छन्। भौतिक पूर्वाधार मन्त्री रमेश लेखकसँग एक लाख र ५० हजार पर्ने २ वटा मोटरसाइकल मात्रै छ। उनीसँग ४ पांग्रे सवारीसाधन छैन।
 
आपूर्ति मन्त्री दीपक बोहोरासँग टोयोटा हाइलक्स र हुन्डाई गरी ५६ लाखको २ वटा गाडी छ। रक्षामन्त्री बालकृष्ण खाँडसँग २ वटा कार छ। उनको विवरण अनुसार एउटाको १६ र अर्कोको १५ लाख मूल्य पर्छ। अर्को कार रहे पनि बिक्री गरिसकेको उनले उल्लेख गरेका छन्।
 
स्वास्थ्यमन्त्री गगन थापाको श्रीमतीको नाममा आइटेन गाडी छ। ६ वर्षअगाडि १७ लाखमा किनेको सो गाडी स्ट्यान्डर्ड चार्टर्ड बैंकबाट ऋणमा किनिएको हो।
 
उद्योगमन्त्री नवीन्द्रराज जोशीसँग बा ९ च ४७ ८५ नम्बरको भक्स वागन कार छ। उनले सो कार पैतृक सम्पत्ति र आफ्नो आम्दानीबाट किनेको बताएका छन्। विवरणमा उल्लेख भए अनुसार यसको मूल्य २८ लाख ४२ हजार छ।
 
सिँचाइ मन्त्री दीपक गिरीसँग बा ११ च ६०६६ नम्बरको स्कोरपियो कार छ। उनले सो कार पैतृक र कृषि आयबाट खरिद गरेको उल्लेख गरेका छन्। संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री जीवनहादुर शाहीसँग २ वटा कार र एउटा स्कुटर छ। ३५ लाख र २० लाख मूल्य राखिएको कार नोकरी र ऋणबाट किनेको उल्लेख गरेका उनले एक लाख मूल्यको स्कुटर नोकरी क्रममै किनेको जनाएका छन्।
 
शान्तिमन्त्री सीतादेवी यादवको नाममा १९ लाख ९९ हजारमा किनेको बा ११ च २८७४ नम्बरको मारुती कार छ। उनले सो कार २०७० फागुनमा किनेको उल्लेख गरेकी छिन् तर स्रोत खुलाएकी छैनन्। उनीसँग एउटा मोटरसाइकल पनि छ।
 
वाणिज्यमन्त्री रोमी गौचनसँग प्राडो सहित ३ वटा गाडी छ। उनीसँग रहेका चारपांग्रेको मूल्य ७५, ७८ र २० लाख हो। २ वटा मोटरसाइकल समेत रहेको र यी सबै सवारीसाधनको स्रोत, ठेक्का, होटल, कृषि, पशुपालन र घरभाडाबाट जोडेका हुन्।
 
सामान्य प्रशासन मन्त्री केशवप्रसाद बुढाथोकीसँग ३६ लाख पर्ने स्कोरपियो छ। २०७१ बैसाखमा महेन्द्र एण्ड महेन्द्र कम्पनीबाट किस्तामा किनेको र किस्ता अझै बाँकी रहेकाले आफ्नो स्वामित्वमा नआइसकेको उनले उल्लेख गरेका छन्।
 
वातावरण मन्त्री जयदेव जोशीसँग २ वटा गाडी र एउटा मोटरसाइकल रहेको विवरणमा उल्लेख छ। उनको मोटरसाइकल भने चोरी भइसकेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell