PahiloPost

Mar 20, 2025 | ६ चैत्र २०८१

मन्त्रीले सम्पत्ति विवरणमा लेखे - मोटरसाइकल थियो, चोरियो!



पहिलोपोस्ट

मन्त्रीले सम्पत्ति विवरणमा लेखे - मोटरसाइकल थियो, चोरियो!

काठमाडौँ : मन्त्रिपरिषद्का सदस्यले बुझाएका सम्पत्ति विवरणमा केही रोचक सम्पत्ति सूची समेत भेटिएको छ। कानुनमन्त्री अजयशंकर नायकले अन्य सम्पत्ति विवरणमा आफ्ना दाजुहरुको विवरण उल्लेख गरेका छन्।

उनको विवरणमा आफू कान्छो भाइ रहेको र राजनीतिमा लागेको, जेठो दाइ विजयशंकर माध्यमिक विद्यालयको अंग्रेजी शिक्षक रहेको र हाल अवकाशपछि निजी स्कुल पढाउने गरेको उल्लेख छ। माइलो दाइ कृषि पेसामा रहेको र आआफ्नो आम्दानीबाट जीवनयापन गरिरहेको अवस्थालाई उनले विवरणमा अटाएका छन्। यी उनको अन्य सम्पत्ति विवरण हुन्।

मन्त्री नायकले दाजु भाई नै सम्पति भएको भावुक विवरण बुझाएका छन्।
 
वातावरण मन्त्री जयदेव जोशीको पीडा अर्कै छ। उनले सवारीसाधनको विवरणमा बा ३६ प ६९८० नम्बरको मोटरसाइकल उल्लेख गरेका छन्। अनि कैफियतमा लेखेका छन् - मोटरसाइकल चोरी भइसकेको छ।
 
कृषीमन्त्री गौरीशंकर चौधरीसँग १० लाख मूल्यको किराना पसल छ। तर किराना पसल सञ्चालको स्रोत देखाइएको छैन।

ऊर्जामन्त्री जर्नादन शर्माले टेबल, सोफा, खाट, दराज, टिभीलाई सम्पत्ति विवरणमा उल्लेख गरेका छन्।

गृहमन्त्री विमलेन्द्र निधिको सम्पत्ति विवरणमा नापनक्सै नभएको एक रोपनी १० आनाको पोखरी समेत उल्लेख छ। अन्य सम्पत्ति विवरणमा निसन्तान जेठो बुबा र जेठी आमाको निधनपछि आफूमा सरेको अपुताली सम्पत्ति विवरणको सूची लामै छ उनको।


मोबाइल पनि छैन प्रधानमन्त्री सहित मन्त्रीहरुसँग

नेपाली कांग्रेसका तत्कालीन सभापति सुशील कोइराला प्रधानमन्त्री भएपछि सार्वजनिक सम्पत्ति विवरणले अन्तर्राष्ट्रिय मिडियाको समेत ध्यान तान्यो  कारण थियो- सम्पत्तिको नाममा ३ वटा मोबइल! जसमा २ वटा बिग्रिएको थियो भने एउटा मात्रै चल्ने अवस्थाको। उनको सम्पत्ति विवरणलाई आधार बनाएर उनी ‘विश्वकै गरिब प्रधानमन्त्री’का रुपमा मिडियामा छाए।
 
कोइरालाको सम्पत्ति विवरणपछि धेरैको ध्यान कोसँग कति मोबाइल रहेछ भन्नेमा तानिने नै भयो। मन्त्रिपरिषद् बैठकै राखेर सम्पत्ति विवरण सार्वजनिक गरेको वर्तमान सरकारका कुन मन्त्रीसँग कति मोबाइल रहेछ त?
 
मन्त्रिपरिषद् कार्यालयले सार्वजनिक गरेको विवरण हेर्ने हो भने प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधि, उपप्रधान तथा अर्थमन्त्री कृष्णबहादुर महरा लगायत अधिकांश मन्त्री मोबाइलविहीन छन्।
 
विवरण अनुसार न स्वास्थ्यमन्त्री गगन थापासँग मोबाइल छ न सहरी विकासमन्त्री अर्जुननरसिंह केसीसँग नै। परराष्ट्रमन्त्री प्रकाशशरण महतको हालत पनि उस्तै रहेछ।
 
सम्पत्ति विवरण अनुसार प्रधानमन्त्री लगायत अधिकांशको घरमा रहेको फ्रिज, टिभी, कम्प्युटर, ल्यापटप, लगायतका कुनै सामग्री उनीहरुको होइन। केही मन्त्रीसँग भने क्यामेरा, ल्यापटप, फ्रिज, दराज, सोफा धेरै देखिए। शान्तिमन्त्री सीतादेवी यादवसँग क्यामेरा र मोबाइल २/२ वटा छन्। वाणिज्यमन्त्री रोमी गौचनसँग क्यामेरा, मुभी क्यामरा छ तर मोबाइल छैन।
 
सञ्चारमन्त्री सुरेन्द्रकुमार कार्कीसँग ल्यापटप, आइप्याड र आइफोन छ तर उनले आफैंले किनेका भने रहेनछन्। ल्यापटप युरोपको साथीबाट उपहार आएको, आइप्याड नेपालकै साथीले उपहार दिएको र आइफोन डेनमार्कको साथीले दिएको उनको सम्पत्ति विवरणमा उल्लेख छ।
 
संघीय मामिला मन्त्री हितराज पाण्डेसँग मोबाइल छैन। वातावरण मन्त्री जयदेव जोशीसँग ४ वटा मोबाइल छ। उनले ती सबै आफ्नो आम्दानीबाट किनेको उल्लेख गरेका छन्। खेलकुद मन्त्री दलजीत श्रीपालीसँग एउटा मोबाइल छ।
 
ठेक्कापट्टा हुँदै राजनीतिमा आएका भुमिसुधार मन्त्री विक्रम पाण्डेसँग सामसुङ एस ४ र आइफोन फाइभ छ। ऊर्जामन्त्री जर्नादन शर्मासँग २ वटा मोबाइल छ।
 

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell