
चितवन : नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले गाउँ विकास समितिलाई गाउँपालिका बनाएर अहिलेकै संरचनामा निर्वाचन गर्न तीन दलबीच सहमति भएको बताएका छन्।
नेपाली कांग्रेस चितवनको सङ्गठन सुदृढीकरण एवम् जागरण अभियान २०७३ को आज उद्घाटन गर्दै उनले एमाले अध्यक्ष केपी ओली, माओवादी केन्द्रका अध्यक्ष एवम् प्रधानमन्त्री पुष्पकमल दाहाल र आफूबीच गाउँपालिकाको निर्वाचन गर्न सहमति भएको दोहोर्याए।
संविधान कार्यान्वयन गराउन तीन तहको निर्वाचन हुनैपर्ने भएकाले यस विषयमा तीन दल एकमत भएको उनको भनाइ छ। मुलुक अब चुनावको दिशामा गइसकेको भन्दै उनले १४ महिनाभित्रमा तीन तहको निर्वाचन नभए देशमा संवैधानिक सङ्कट आउने खतरा औंल्याए। ‘अब यसलाई कसैले टारेर टर्दैन। स्थानीय, प्रान्तीय र सङ्घीय निर्वाचन सकेर राष्ट्रिय सभा र राष्ट्रपतिको निर्वाचन हुन्छ,’ उनले भने।
एमाले अध्यक्ष ओली र कांग्रेसका तत्कालीन पार्टी सभापति सुशील कोइरालाले हस्ताक्षर गरेअनुरुप नै सीमाङ्कन हेरफेर गरेर संशोधन प्रस्ताव पेस गरिएको उनले स्पष्ट पारे। एमालेले प्रस्ताव पास हुने डरले संसद् चल्न नदिएको र जनता उचालेको आरोप लगाउँदै देउवाले भने, ‘कांग्रेस र माओवादी संशोधन प्रस्ताव कुनै पनि हालतमा फिर्ता लिने पक्षमा छैन।‘रासस