PahiloPost

Mar 20, 2025 | ६ चैत्र २०८१

प्रदूषण नियन्त्रणका लागि कार्ययोजना ल्याउने तयारीमा सरकार



पहिलोपोस्ट

काठमाडौँ : सरकारले प्रदूषण नियन्त्रणमा समग्र दिशानिर्देश गर्न र कार्यदिशा उपलब्ध गराउन ‘राष्ट्रिय प्रदूषण नियन्त्रण रणनीति तथा कार्ययोजना’ ल्याउने भएको छ।
 
कार्ययोजनाको मस्यौदामाथि सरोकारवाला निकायका प्रतिनिधिसँगको छलफल एवम् सुझाव सङ्कलनका लागि वातावरण विभागले आयोजना गरेको कार्यक्रममा वक्ताहरुले नयाँ कानुन निर्माणभन्दा पनि भएका कानुनको प्रभावकारी कार्यान्वयनमा जोड दिन सुझाव दिए।
 
वातावरणविद्ले अन्तर सरकारी निकायको समन्वय, अनुगमन तथा मूल्याङ्कन, दण्ड र पुरस्कारको व्यवस्था प्रभावकारी कार्यान्वयन नभएसम्म कानुन तर्जुमाले मात्र सार्थकता नपाउने विचार व्यक्त गरे।
 
कार्यक्रममा जनसङ्ख्या तथा वातावरण मन्त्रालयका सचिव विश्वनाथ ओलीले प्रदूषण नियन्त्रण गर्न सरकारले आवश्यक कानुन निर्माण गरी अघि बढेको बताउँदै यस अभियानमा सबै क्षेत्रको सहयोगको अपेक्षा व्यक्त गरे। प्रदूषण नियन्त्रणमा सरोकारवाला सबैलाई आशावादी भएर अघि बढ्न सुझाव दिँदै उनले यस कार्यमा देखिएका चुनौतीको सामना गर्न सबै एकजुट हुनुपर्नेमा पनि जोड दिए।
 
विभागका निमित्त महानिर्देशक पदमिरा डङ्गोलले मुलुकको औद्योगिक विकाससँगै बढ्दै गएको प्रदूषण नियन्त्रण गर्न तथा विभिन्न क्षेत्रगत कार्यक्रम र योजनामा प्रदूषण नियन्त्रणका उपायलाई मूलप्रवाहीकरण गर्न कार्ययोजना ल्याउन लागेको जानकारी दिए।
 
कार्यक्रममा एसियाली विकास बैंकका देशीय प्रतिनिधि दीपकबहादुर सिंहले दिगो विकासको लक्ष्यलाई मूर्त रुप दिन कार्ययोजना सहयोगी हुने बताउँदै सबै मिलेर कार्यान्वयनको चुनौती सामना गर्नुपर्ने धारणा व्यक्त गरे।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell