काठमाडौं : नेपाली नम्वर वन ब्याडमिन्टन खेलाडी रत्नजित तामाङ राजधानीमा जारी नेपाल इन्टरनेशल ब्याडमिनटन सिरिजको मेन्स सिंगल, मेन्स डबल्स र मिक्स डबल्समा तीनवटै इभेन्टमा पराजित हुँदै क्वाटरफाइनलबाटै बाहिरिएका छन्।
त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कबर्डहलमा भएको प्रतियोगिताअन्तर्गत रत्नजित मेन्स सिंगलको क्वाटरफाइनलमा भारतीय खेलाडी सिद्धार्थ ठाकुरसँग २१-१८, २१-१७ को सोझो सेटमा पराजित भए। यसअघि भएको दुवै भेटमा पनि रत्नजित ठाकुरसँग पराजित भइसकेका थिए।
मेन्स डबल्सको क्वाटरफाइनलमा रत्नजित र दिपेश धामीको जोडी पाकिस्तानका रिजवान अजाम र सुलेरी खासिफ अलीसँग २१-१६, २१-१८ को सेटमा पराजित भए।
यस्तै दिदी नंगसलसँग मिक्स डबल्सको जोडी बनाएर खेलेका रत्नजित यस विधामा भारतीय खेलाडी शौरभ शर्मा र अनउस्खा पारिखको जोडीसँग २-१ को सेटमा पराजित हुन पुगे। पहिलो सेट भारतीय जोडीले २१-१३ ले जितेपनि दोस्रो सेटमा नेपाली खेलाडीले पुनरागमन गर्दै २१-१९ ले जित्दै १-१ को बराबरी गरेका थिए। तर तेस्रो सेट २१-१० ले जित्दै भारतीय जोडी सेमिफाइनलमा पुगेका हुन्।
यता वुमन्स सिंगलमा नेपालकी शिक्षा श्रेष्ठ र मेधा चन्द पनि क्वाटरफाइनलबाटै बाहिरिएका छन्। शिक्षा भिएतनामी खेलाडी थुइ नेयेनसँग २१-६, २१-१२ को सेटमा पराजित भइन् भने मेघा पनि भियतनामकै थि फुओन थुए तानसँग २१-८, २१-७ को सोझो सेटमा पराजित भइन्।
मेन्स र वुमन्स सिंग विधामा नेपालका कुनै पनि खेलाडी सेमिफाइनल पुग्न सकेनन्। वुमन्स डबल्स र मिक्स डबल्सतर्फ पनि नेपालका सबै जोडी क्वाटरफाइनलबाटै बाहिरिए।
यस्तै मिक्स डबल्समै बिजित थापा मगर र शिक्षा श्रेष्ठको जोडी भारतीय खेलाडी वेनकाट गौरव प्रसाद र जुही डेवानगानको जोडीसँग २१-८, २१-११ को सेटमा पराजित भए भने बिष्णु कटवाल र अमिता गिरीको जोडी बंगालादेशी खेलाडी मोहम्मद सल्मान खान र अलिना सुल्तनासँग २१-१२, २१-१४ को सेटमा पराजित भए।
यता वुमन्स डबल्समा नंगसल र पुजा श्रेष्ठको जोडी जक्कामपुदी मेघाना र पूर्भिसा एस रामको जोडीसँग २१-७, २१-५ को सोझो सेटमा पराजित भए।
यस्तै शोभा गौचन र अनुमाया राई बंगाली जोडी अक्तर साप्ला र अलिना सुल्तानासँग २१-७ २१-१३ को सेटमा पराजित भए।