PahiloPost

May 6, 2024 | २४ बैशाख २०८१

मदिरा र महिला 'ककटेल' हुँदाको 'रिजल्ट' हत्या!



केपी ढुंगाना

मदिरा र महिला 'ककटेल' हुँदाको 'रिजल्ट' हत्या!

काठमाडौं : मदिरा पिएर अचेत भएका राजकुमार लामाको मृत्युपछि आइतबार प्रहरी बिटमाथि स्थानीयबाट भएको आक्रमणको कारण खोतल्न गठन भएको प्रहरीको अनुसन्धान समितिले लामाको मृत्यु होइन हत्या भएको खुलायो। थप खोतल्दा अपराधको कारण देखियो- मदिराको नशा र यौन उन्माद।
 
गएको शनिबार जोरपाटी नयाँ बस्तीमा भएको लामा हत्याकाण्डमा संलग्न रहेको अभियोगमा तीन महिला र दुई पुरुष समातिएका छन्।
 
महाशाखाले बुधबार सार्वजनिक गरेको प्रारम्भिक अनुसन्धान विवरण अनुसार हत्याको प्रमुख कारण देखियो- ट्याक्सी चालक लामा र समातिएकी एक महिलाबीचको यौन सम्बन्ध। रेष्टुरेन्टमा काम गर्ने महिला र लामाबीच दोस्रो पटक यौन सम्बन्ध राख्ने विषय हत्यामा पुगेर टुंगियो। यौनको विषयमा दुईबीच विवाद भएपछि सँगै रहेका युवकको निद्रा बिथोलियो। र, त्यही झोँकमा उनले इँटाले हाने। लामा त्यहीँ ढले।
 
यौन र रक्सी 'ककटेल' हुँदा 'रिजल्ट'का रुपमा हत्या भएको यो पहिलो पटक भने होइन। 'अधिकांश हत्याको घटनामा मदिरा र महिला जोडिएका पाइएको छ,' महानगरीय प्रहरी परिसर काठमाडौंका निमित्त प्रमुख एसपी प्रधुम्न कार्की भन्छन्, 'धेरैजसो अपराधमा यी दुवै विषय जोडिएर आउने गरेको देखिन्छ।'
 
लामाको हत्याजस्तै यौन उन्माद र रक्सी 'लाग्दा' ज्यान गुमाउनेको सूची लामै छ। कतै प्रेमी–प्रेमिकाबीचको उन्माद दु:खद् घटनामा पुगेर टुंगिएका छन् त कतै निकट साथीको मन भड्किँदा।
 
दुई वर्षबीचमा काठमाडौं र पोखरामा लामाको बाहेक यस्तै प्रकृतिका तीन वटा आपराधिक घटना भए। ती तीन घटनामा ज्यान गुमाउनेहरु भने युवतीमात्रै रहे।
 

साथीको साथीसँग यौन सम्बन्ध नराख्दा!

गत फागुन १० मा महानगरीय प्रहरी अपराध महाशाखामा निवेदन आयो- विद्यालयमा पठाउँदै गरेकी भेनिसा लिम्बु हराइन्।
 
२० वर्ष मात्र टेकेकी उनी प्लस टु सकाएर नजिकैको हेरिटेज स्कुलमा पढाउँथिन्।
 
उजुरी आउँदा भेनिसा हराएको दुई दिन कटिसकेको थियो। प्रहरीले परिवारसँग तस्बिर लियो र ‘देखे खबर गर्नु’ भन्दै अन्य प्रहरी कार्यालयमा पत्राचार गर्‍यो तर उनी भेटिइनन्। चार दिनपछि महानगरीय प्रहरी परिसर भक्तपुरले नगरकोटको मनपोखरीस्थित बाँसघारीमा एक युवतीको शव फेला पार्‍यो। शव फेला परेकी युवतीको हुलिया भेनिसासँग मिलेपछि महाशाखामा खबर आयो।
 
साथीसँग भेट्छु भन्दै कोठाबाट निस्किएकी थिइन् भेनिसा। अनुसन्धानका लागि प्रहरीले पाएको पहिलो जानकारी यही थियो। त्यसैको आधारमा उनको मोबाइल कल डिटेल हेर्‍यो प्रहरीले। सम्पर्क भएका व्यक्ति निस्किए, राजन राई। राईको खोजीमा खटिएको प्रहरीले उनलाई फेला पारेन। भेनिसा हराएको भनिएको दिनदेखि नै उनी परिवारको सम्पर्कमा नरहेको खुलेपछि प्रहरी उनकै खोजीमा केन्द्रित भयो।
 
सर्लाहीतिर रहेको सूचनाको आधारमा प्रहरीले उनलाई उनको साथी शनी लामासहित पक्राउ गर्‍यो। अर्का सजित लामा बौद्धमा पक्राउ परे। यी तीन जना समातिएपछि खुल्यो- हत्याको कारण मदिरा र यौन।
 
महाशाखाले सार्वजनिक गरेको अनुसन्धान प्रतिवेदन अनुसार फेसबुकमार्फत चिनजान भएका युवासँग डिस्को गइन्, यौन सम्पर्क पनि भयो उनीहरुबीच। मदिरा पिएर उनीहरुसँगै लाजिम्पाटको अर्पाटमेन्टमा पुगेकी थिइन् भेनिसा।
 
सँगै अपार्टमेन्ट पुगेका अर्का युवकसँग भेनिसाको परिचय थिएन। उनी अर्पाटमेन्टको कोठामा शनीसँग बसिन् र बियर थपिन्। केही समयमा ती युवक पनि भेनिसा रहेको कोठामा आए। उनले यौन प्रस्ताव राखे। तर नयाँ युवकसँग भेनिसा तयार भइनन्। दुवैबीच झगडा भयो। रक्सीकै झोँकमा बच्न उनी प्रयासरत थिइन् तर उन्मुक्ति पाइनन्। ‘आफूसँगै आएको केटासँग मानेको तर आफूलाई अस्वीकार गरेको’ झोँकमा ती युवाले भेनिसालाई झ्यालबाट खसाल्दिए। ६ तलामाथिबाट तल झरेकी उनी जिउँदै थिइन् या मरेकी थाहा छैन तर नशामा लट्ठीएका दुवै युवाले उनलाई गाडीमा राखेर भक्तपुर पुर्‍याए। त्यहीँ फ्याँके र फर्के।
 

झ्यालबाट खस्दा पनि पत्तै पाएनन्!

२०७१ चैतमा धुम्बाराहीस्थित प्रगति टोलको सडकमा एक युवतीको अर्धनग्न शव भेटियो। मर्निङ वाकमा हिँडेका स्थानीयले सडकमा लडिरहेकी युवतीको शव देखेपछि प्रहरीलाई खबर गरे। घटनास्थलमा प्रहरी पुग्दा उनको पहिचान खुल्यो। सडक नजिकै घरमा डेरामा बस्ने ज्योत्सना तामाङ।
 
प्रहरी उनी बस्ने फ्ल्याटमा पुग्दा ढोका बन्द थियो। ढकढक्याएपछि युवतीले ढोका खोलिन्। लगत्तै प्रहरीले नियन्त्रणमा लियो तिनलाई। ज्योत्सनाको कोठामा पुग्दा एक युवक मस्त सुतिरहेका भेटिए। ती थिए प्रितम मानन्धर। प्रहरीले उनलाई उठाएर युवतीबारे सोध्दा उनले यतै कतै होलिन् भन्ने जवाफ दिए। उनलाई नियन्त्रणमा लिएर तल सडकमा लगेपछि ज्योत्सनाको शव देखेर मानन्धर झसङ्ग भए।
 
महानगरीय प्रहरी अपराध महाशाखाको अनुसन्धान विवरण अनुसार प्रितम ज्योत्सनाको प्रेमी थिए। उनी हप्ताको एक पटक उनको डेरामा पुग्थे। घटनाको दिन पनि उनी ज्योत्सना कोठामा पुगेर सँगै मदिरा पिएका थिए। बेलुका साढे १२ बजेसम्म दुवैले मदिरामा मस्त थिए। सँगै रहेकी साथी कोठामा बच्चा लिएर सुत्न गएपछि दुवैबीच शारीरिक सम्बन्ध भयो।
 
बाथरुमको झ्याल खोलेर यौन सम्बन्ध राख्ने क्रममा उनी झ्यालबाट झरिन्। मदिराले लठ्ठिएका प्रितमले चालै पाएनन्। उनी सरासर कोठामा आएर सुते र भुसुक्कै निदाए।
 

प्रस्ताव अस्वीकारपछि नेहाको हत्या

२०७२ माघको तेस्रो साता। पोखरामा नेहा पुनको शव फेला परेपछि हङ्गामा भयो। गुरुङ फिल्मकी हिरोइन समेत रहेकी उनी सडक किनारामा मृत अवस्थामा फेला परिन्। नेहाको हत्या भएको भन्दै पोखरेली जुर्मुराएपछि अनुसन्धानमा जुटेको प्रहरी अन्तिममा निष्कर्षमा पुग्यो– उनको मृत्यु होइन हत्या भएको हो। घटनामा संलग्न रहेका कृतन खड्गीलाई ६ दिनपछि प्रहरीले पक्राउ गर्‍यो।
 
खड्गीले पक्राउपछि हत्याको कारण खुलाए- मदिरा र यौन चाहना।
 
खड्गीको बयान अनुसार घटनाको दिन साथीहरु भेला भएर ओपन रेष्टुरेन्टमा मदिरा सहित रमाइलो गरेका थिए। नेहालाई घर पुर्‍याउने जिम्मा लिए खड्गीले।
 
खड्गीलाई उनले धर्मदाइ बनाएकी थिइन्। त्यसैले उनीसँग जान कुनै संकोच थिएन। तर मदिराको नशाले उनको मति खलबलिँदै थियो। मोटरसाइकलबाट घर पुर्‍याउने क्रममा खड्गीले उनलाई लेकसाइडको होटलमा बसेर रमाइलो गर्न प्रस्ताव गरे। नेहा झोँक्किइन्। उनले गाली गरेपछि आवेशमा आएर खड्गीले हेल्मेटले हाने।
 
‘घर जानुभन्दा अगाडि लेकसाइडतिर बसेर रमाइलो गरौं भन्दा उनले मलाई गाली गरेपछि रिस थाम्न सकिनँ,’ खड्गीले प्रहरी बयानमा भनेका छन्, ‘मोटरसाइकल रोकेर उनलाई हेल्मेटले हिर्काएपछि ढलिन्। उनको नाक र कान बाट रगत बगेको देखेपछि भागेँ।’ 
(प्रतीकात्मक फोटो : mimosalotus.com)



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell