सप्तरी : ट्याक्टर किन्ने पैसा जोहो गर्न ८ वर्षिय बालक दुर्गानन्द साहको अपहरण गरी हत्या गरेको प्रहरी अनुसन्धानले देखाएको छ । चुडामणी ठाकुर, रामबाबु गुप्ता साह र कपिलदेव साहको पक्राउपछी पाँच लाख फिरौती लिएर ट्याक्टर किन्न अपहरणगरी हत्या गरेको देखिएको हो ।
सप्तरीको हरिपुरबाट मंसिर ११ गते अपहरणमा परेका ८ वर्षिय साहको अपहरणमा संलग्न देखिएका तीन जना पक्राउ परेपछी बालकको दाई विदेशमा रहेकाले सहजै पैसा आउने भन्दै उनीहरुले बालकको अपहरण गरी अपहरण गरेकै दिन हत्या गरेर परिवारसँग फिरौती मागेको खुलेको हो ।
जिल्ला प्रहरी कार्यालय सप्तरीका एसपी दिवस लोहनीका अनुसार अनुसार साहको हत्या अभियोगमा चुडामणी ठाकुर, रामबाबु गुप्ता साह र कपिलदेव साहको पक्राउपछी साहको परिवारसँग पाँच लाख रुपैंया फिरौती असुलेर ट्याक्टर किन्ने योजना अनुसार उनीहरुले बालकको अपहरण गरेको खुलेको हो ।
लोहनीका अनुसार मंसिर ११ बेलुका साढे ६ वजे बालक हराएका थिए । छोरा वेपत्ता भएपछि भोलिपल्ट उनकी आमाले इलाका प्रहरी कार्यालय कडरबोनमा निवेदन दिएकी थिइन् ।
बालक हराएको ६ दिनपछि बालकको आमा ममतादेवीलाई‘ तिम्रो छोरा अपहरणमा परेको छ, जिउदो चाहिने हो भने पाँच लाख रुपैंया दिनु’ भन्दै म्यासेज आएपछी जिल्ला प्रहरी कार्यालय सप्तरीले अनुसन्धान शुरु गरेको थियो ।
प्रहरीले फिरौती रकम माग्न प्रयोग गरेको मोवाइल नम्बरको आधारमा अनुसन्धान अगाडि बढाउँदा एसएमएस पठाउन प्रयोग भएको नम्बर चुडामणी ठाकुरको रहेको खुलेपछी प्रहरीले उनलाई पक्राउ गरेको थियो ।
चुडामणीको पक्राउपछी रामबाबु र दुर्गानन्द समेत मिलेर मृतक बलकको दाई बिदेशमा रहेकालदे जति पैसा मागे पनि दिन सक्छन् भन्दै अपहरण गरेको खुलेको प्रहरीले जानकारी दिएको छ ।
बालक अपहरणमुक्त भए आफुहरु पक्राउ पर्नसक्ने भन्दै उनीहरुले अपहरण गरेकै दिन हत्या गरी शौचालयको सिमेन्टको रिङले बनेको हबभित्र लुकाएका थिए ।
‘अनुसन्धानमा फिरौती रकम लिई ट्याक्टर किनी चलाउने योजना बनाएर बालकको अपहरणगरी हत्या गरेको देखिन्छ,’ एसपी लोहनीले भने ।